अपडेट 
२०७७ बैशाख २५, बिहीबार ०७:५०

वीरगन्ज । प्रदेश २ मा एकै दिन १७ जना कोरोना भाइरसको संक्रमित फेला परेका छन् । नारायणी अस्पतालमा ठूलो पीसीआर मेसिन सञ्चालनमा आएको दोस्रो दिन नै एकै परिवारका १७ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।

वीरगन्ज ३ छपकैयाका ३६ वर्षीय पुरुषको परिवारका १७ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३ छपकैयामा भेटिएका एकै परिवारका १७ संक्रमितमध्ये १० पुरुष र ७ जना महिला रहेको जनाएको छ । संक्रमित मध्ये एक जना २ दुई महिना र अर्का ६ महिनाका दुई शिशु छन् ।

त्यसैगरि ३ वर्ष, ९ वर्ष, १२ वर्ष, १३ वर्ष र १४ वर्षका पाँच बालबालिका छन ्। अन्य १० जनामा ३५ देखि ६६ वर्षसम्मका महिला र पुरुष रहेको नारायणी अस्पतालका प्रमुख डाक्टर मदन उपाध्यायले बताए

१७ जना संक्रमित फेला परेका परिवारका ३६ वर्षिय पुरुषलाई गत आइतबार कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो ।उनको सम्पर्कमा रहेका व्यक्तिहरुको परीक्षण गर्ने क्रममा परिवारका थप १७ जना संक्रमित रहेको पुष्टि भएको छ ।

उनको सम्पर्कमा रहेका ३२ जनाको थ्रोट स्वाबको पीसीआर टेस्टका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सोमवार पठाइएको थियो ।त्यस मध्ये १७ जनामा संक्रमण देखिएकोछ । रिपोर्ट पोजिटिभ देखिएका सबैलाई उपचारका लागि नारायाण्ी अस्पतालको आइसोलेशनमा भर्ना गरिएकोछ ।

नारायणी अस्पतालमा अहिले २८ जनाको उपचार भइरहेको छ ।त्यस मध्ये १ जना सर्लाही, ३ जना रौतहट, २ जना बारा र २२ जना पर्सा जिल्लाका छन् ।

नारायणी अस्पतालमा पहिलेदेखि नै थप गरी राखिएको ५० बेडमा रोगीहरुको उपचार भइरहेको अस्पतालका प्रमुख डा.उपाध्यायले जनाए ।

बीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३ मा सबै भन्दा बढी १९ जना संक्रमित रहेका छन् ।वडा नम्बर २ र वडा नम्बर १६ का १÷१ जना संक्रमित छन् ।त्यस मध्ये १ जना भारतीय जमाती रहेका छन् ।

यसअघि वैशाख १४ मा कोरोना संक्रमण पुष्टि भएका वडा नम्बर ३ मा कार्यरत महानगरपालिकाका सफाइकर्मीसँगै उनी पनि राहत वितरणमा खटिएका थिए ।

१८ जना संक्रमित परिवारका ३६ वर्षिय पुरुष वडा नम्बर ३ को टोलहरुमा राहत वितरण गर्न सकृय रहेकाले अन्य मानिसहरुमा पनि संक्रमण फैलिएको हुन सक्ने त्रास बढेको छ ।

सुरक्षा समितिले वडा नम्बर ३ लगायत त्यससित जोडिएका वस्तीहरुपनि सिल गरिएको पर्सा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जनाए ।

प्रदेश २ मा अहिले पर्सा, बारा, रौतहट र सर्लाही जिल्लामा संक्रमित भेंटिएका छन् ।महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लामा संक्रमित फेला परेको छैन् । पीसीआर परीक्षणको गति कमजोर रहेकाले संक्रमितहरुको पहिचान हुन नसकेको बताइन्छ ।

जमातीहरुको संम्पर्कमा रहेकाहरुको संख्या बढी भएको र संक्रमितको पहिचान नहुँदा उनीहरुपनि समाजमा घुमफिर गरिरहेकाले संक्रमितको संख्या बढने आशंका गरिएको छ ।

Comment


Related News

Latest News

Trending News