अपडेट 
२०७७ बैशाख २६, शुक्रबार १५:४५

सप्तरी । मध्यरातमा जङ्गली हात्ती गाउँ प्रवेश गर्न थालेपछि सप्तरीको उत्तरी भेगका अधिकांश क्षेत्र त्रसित बनेका छन् ।

मध्यरात भएपछि दिनहुँजसो हात्तीको समूह गाउँ प्रवेश गर्न थालेपछि यस भेगका बासिन्दा त्रसित बनेका हुन् । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने हात्तीको समूहले सप्तरी जिल्लाको उत्तरी र पूर्वी भेग तथा पूर्वपश्चिम राजमार्गका विभिन्न स्थानमा बस्ने मानिसलाई दैनिक हैरान पार्ने गरेको छ ।

आरक्षबाट आएको तीन हात्तीको समूहले बिहीबार राति अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ मोहनपुरमा पुष्पराज बञ्जारा र अम्बिका राईको घर भत्काएको छ । बिहीबार बिहान मात्रै हात्तीको आक्रमणबाट शम्भुनाथ नगरपालिका–२ भलुवाहीकी ३८ वर्षीया जानुका मगरको मृत्यु भएको थियो ।

अग्निसाइर कृष्णसवरण गाउँपालिका–६ मोहनपुरस्थित घरसहित भर्खरै भित्र्याइएको अन्न, पशुआहारासमेत गरी करिब रु साढे एक लाख मूल्य बराबरको खाद्यान्न क्षति गरेको पीडित बञ्जाराले बताउनुभयो । लकडाउनमा बेरोजगार भइ आयस्रोत कम भएका बेला हात्तीले घर र खाद्यान्न क्षति गर्दा मर्कामा परेको पीडित राईले बताउनुभयो ।लदिनभरि नजिकैको जङ्गलमा बस्ने हात्ती रात परेपछि गाउँ प्रवेश गरेर दैनिकजसो घर तोडफोड र मानिसमाथि आक्रमण गर्दै आएको मोहनपुरका बाबुराम बस्नेतले जानकारी दिनुभयो ।

भत्किएको घरको मर्मतसम्भार र नोक्सान भएको अन्नको क्षतिपूर्ति अविलम्ब उपलब्ध गराउन छिमेकी बाबुराम बस्नेतले स्थानीय सरकार र सम्बन्धित निकायसँग माग गर्नुभएको छ । जङ्गली हात्तीको आतङ्क रोक्न पहल नभएकाले मानवीय र भौतिक क्षति बढ्दै गएको उहाँले बताउनुभयो ।

चार दिनअघि सोही गाउँपालिका—२ मा प्रवेश गरेको हात्तीको समूहले वीरेन्द्र राम, श्यामकुमार राम, लक्ष्मीदेवी राम र नारायण रामको घर तोडफोड गरी धान, गहँु, चामललगायतका खाद्यान्न खाएको थियो । हात्ती आँगनमा पसेपछि गत साता वडा नं ६ महुलीका भुवन आचार्य भागेर ज्यान जोगाउँदा लडेर घाइते हुनुभएको थियो । गत शनिबार खड्क नगरपालिका–७ मा हात्तीले घर भत्कायो भने आइतबार सप्तकोशी नगरपालिका–५ मा हात्तीले बालीमा क्षति पु¥यायो ।

हात्तीको त्रासले गाउँलेहरु जाग्राम बसेर रात काट्ने गरेका छन् । वर्षाँैदेखि हात्ती आउने गरेको जानकारी दिँदै शम्भुनाथ नगरपालिका–२ का बाबुराम घिमिरेले कहिलेकाहीँ हात्ती आक्रोशित भइ घर तोडफोड र मानिसमाथि नै आक्रमण गरेर ज्यान लिने गरेको बताउनुभयो । हात्तीले घर पनि भत्काउने र खाने सामग्रीसमेत नष्ट गरिदिने हुनाले एकैसाथ बस्ने र खाने समस्या परेको श्यामकुमार रामले चिन्ता व्यक्त गर्नुभयो । “लकडाउनको समयमा घरबाहिर ननिस्कन भनिएको छ, हात्तीले घरबारविहीन बनाएको छ”, वीरेन्द्र रामले भन्नुभयो, “लकडाउनले बेरोजगार बनायो र बनिबुतो गरेर जम्मा गरेको खाद्यान्नसमेत हात्तीले नष्ट गर्दा खाना र बासको समस्या एकसाथ आइलाग्यो ।”

आरक्षबाट निस्किने हात्तीको समूहले दैनिकजसो अग्निसाइर कृष्णसवरण, रुपनी गाउँपालिका, कञ्चनरुप, सप्तकोशी, शम्भुनाथ, सुरुङ्गा, खड्क, हनुमाननगर कंकालिनी नगरपालिकालगायतमा बालीनाली सखाप पार्ने, घर तोडफोड गर्ने र व्यक्तिमाथि आक्रमण गर्न थालेको छ । जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पछिल्लो दुई सातादेखि लगातार हात्तीको आतङ्क बढेपछि स्थानीयवासी दैनिक जाग्राम बस्नुपरेको पीडित बताउँछन् ।

Comment


Related News

Latest News

Trending News