अपडेट 
२०७७ बैशाख २७, शनिबार ०८:२०

काठमाण्डु ।नेपाल प्रहरीका निवर्तमान प्रमुख(आईजीपी)माथि अपहरण मुद्दामा अनुसन्धान सुरु भएको छ ।भ्रष्टाचार लगायतका मुद्दामा पूर्व प्रहरी प्रमुखहरु कार्वाहीमा परेपनि अपहरणको मुद्दामा समेत पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल अनुसन्धानमा तानिएका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान)सँगै पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्धको अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा अनुसन्धान सुरु भएको काठमाण्डु प्रहरी परिसर टेकुले जनाएकोछ ।

समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवले आफूलाई अपहरणगरि काठमाण्डु ल्याएको मुद्दा प्रहरी कार्यालयमा दर्ता गर्न खोज्दा प्रहरीले लिन अस्वीकार गरेको थियो ।गत २२ गते जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डुले उजुरी दर्ता गरेपछि अनुसन्धानका लागि प्रहरी कार्यालयमा पठाएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयले शुक्रबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाण्डुलार्ई सांसद सुरेन्द्र यादवले दिएको अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरको जाहेरी दर्खास्त पठाएपछि अनुसन्धान सुरु प्रहरीले जनाएकोछ ।

सरकारी वकिलले जाहेरी पठाएपछि सांसद अपहरण प्रकरणमा अनुसन्धान थालिएको प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जनाए । घटनाको प्रकृति हेरी अनुसन्धानलाई अगाडी बढाइने उनले बताए ।

घटनास्थल महोत्तरी भएकाले अनुसन्धानपनि त्यहाँबाट नै सुरु गर्न प्रहरी महोत्तरी जाने भएकोछ ।प्रहरी र सरकारी वकिलको कार्यालयले निवेदन दर्ता गर्न अस्वीकार गरेपछि सांसद यादवले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका थिए ।त्यसपछि सरकारी वकिलको कार्यालयले मुद्दादर्ता गरेको थियो ।

लकडाउनको समयमा पूर्व प्रहरी महानिरीक्षक खनाल, सांसदद्वय बस्नेत र श्रेष्ठ महोत्तरी पुगेर सांसद यादवलाई काठमाण्डु ल्याएका थिए । सांसद यादवले आफूलाई इच्छाविपरीत काठमाण्डु ल्याएर होटेलमा राखेको बताउँदै आएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादी पार्टी फुटाउन अध्यादेश ल्याएपछि सांसदको आवश्यक संख्या पु¥याउन पूर्वआईजीपी खनाल, सांसदहरु बस्नेत र श्रेष्ठले सांसद यादवलाई प्रधानमन्त्री ओलीसित भेंट गराइने र त्यसका लागि फोनमा कुरा गराउने आश्वासन दिएको आरोप छ ।तर आरोपीहरुले सांसद यादवको इच्छानुसार नै काठमाण्डु आउन सहज वातावरण मात्र बनाइदिएको बताउँदै आएका छन् ।

Comment


Related News

Latest News

Trending News