
जनकपुरधाम ।आफ्नै दिदीको हत्या गर्न उक्साउने एक जना बहिनीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । मिथिला नगरपालिका ९ लालभिट्टीका गंगा लामालाई इलाका प्रहरी कार्यालय ढल्केबरको टोलीले शुक्रबार नियन्त्रणमा लिएको हो ।
आफ्नी माइली छोरी बीणाको हत्या गर्न उनका पति हरि चौहानलाई गंगाले नै उक्साएको भन्दै पिता पदमबहादुर मोक्तानले जाहेरी दिएपछि गंगालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरका इन्जार्च प्रहरी निरीक्षक तिर्थ कार्कीले जानकारी दिए ।
पदमबहादुरका चार जना छोरीमध्ये मारिएकी बीणा माइली हुन् भने गंगा कान्छी । पदमबहादुरले आफ्नो माइली छोरीको हत्या गराउन कान्छी छोरीले उनका पतिलाई उक्साएको भन्दै जाहेरी दिएको प्रहरी निरीक्षक कार्कीले बताए ।
स्थानीय हरि चौहानले गत बैशाख १८ गते आफ्नी पत्नी बीणाको उनकै सलले घाँटी थिची हत्या गरेका थिए । हत्यापछि लालगढ सामुदायिक वनस्थित मगर्नी खोलामा खाल्डो खनी गाडेका थिए ।
छोरी हराएको भन्दै पदमबहादुरले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले अनुसन्धान गर्न उनका पति हरी चौहानलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा आफूले नै हत्या गरी खाल्डो खनेर गाडेको बयान दिएका थिए । उनले आफ्नो कान्छी साली गंगासँग विवाह गर्न बीणाको हत्या गरेको स्वीकारेका थिए ।
‘बीणाको हत्या गर्न गंगाले नै उक्साएको भन्दै उनका पिताले जाहेरी दिएका छन्’ उनले भने, “हत्या गर्ने हरिले पनि त्यो कुरा बयानमा भनिसकेपछि गंगालाई नियन्त्रणमा लिएका हौं ।”
पदमबहादुरले पटक–पटक बीणाका हत्या गराउन गंगाले उक्साउने गरेको जाहेरीमा उल्लेख गरेका छन् ।
पेशाले टिपर चालक रहेका २८ बर्षीय हरिले ५ बर्षअघि पदमबहादुरकी माइली छोरी बीणा लामासँग प्रेम विवाह गरेका थिए । यी दुबैबाट दुई जना सन्तानको समेत जन्म भयो १ छोरा र १ छोरीको ।
सन्तानको जन्म भएपछि हरिको प्रेम बस्यो कान्छी साली २३ बर्षीया गंगासँग । यी दुबै चाँडै विवाह गर्न खोजेका थिए । तर आफ्नी दिदीसँग बस्न नसक्ने भएकाले दिदीलाई साइड लगाउने योजना दुबैले बनाएका थिए । ‘चाँडो दिदीलाई साइड लगाउनुपर्छ नभै हाम्रो विवाह हुन सक्दैन’ भनेर गंगाले हरिलाई भन्ने गरेका रहेछन्’ प्रहरी निरीक्षक कार्कीले भने, “थप अनुसन्धानलाई अगाडि बढाउँदै गंगासँगको बयान लिन शुरु गरेका छौं ।”
हरिसँगै गंगाबिरुद्व समेत कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालिएको प्रहरीको भनाई छ ।