अपडेट 
२०७७ बैशाख २७, शनिबार १८:०३

गलकोट । विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को शान्तिको कामना गर्दै बागलुङमा श्रीमद्भागवत् कोरोना विश्वशान्ति महायज्ञ शुरु गरिएको छ ।

कोरोना भाइरसको सङ्कटबाट विश्वलाई मुक्ति दिलाउनका लागि सातदिने विश्वशान्ति महायज्ञ शुरु गरिएको हो । जिल्लाको बागलुङ नगरपालिका–४ कुँडुलेस्थित जलेश्वर महादेव मन्दिरमा विश्वशान्ति महायज्ञको आयोजना गरिएको छ । महायज्ञमा बाहिरी भक्तजनलाई भने निषेध गरिएको छ । भक्तजनलाई महायज्ञ सुन्नका लागि माइकिङबाट प्रसारणको व्यवस्था मिलाइएको छ ।

सारा विश्वमा सङ्कटका रुपमा पैदा भएको कोरोना भाइरसबाट मुक्ति दिइ शान्ति पैदा गर्न र विश्वमा मुत्युवरण गरेकाको सम्झनामा श्रीमद्भागवत् महापुराण कोरोना विश्वशान्ति महायज्ञको आयोजना गरिएको जलेश्वर महादेव मन्दिरका संस्थापक एवं महायज्ञका मूल अर्चक चन्द्रदत्त आचार्य (स्वामी चन्दन गिरि)ले बताउनुभयो ।

परापूर्वकालमा ऋषि महर्षीले महामारीका समयमा विभिन्न यज्ञको आयोजना गरी विश्वशान्तिको कामना गर्न पाइएको भन्दै आचार्यले परम्परालाई निरन्तरता दिँदै यज्ञ आयोजना गरेको बताउनुभयो । यज्ञमा पूर्णरूपमा सामाजिक दूरी कायम गरिएको छ । कार्यक्रममा मूल वाचकका रूपमा विश्व हिन्दू सङ्गठनका दक्षिण एशिया प्रमुख चन्द्रकान्त पौडेल एवं उपवाचकका रूपमा पण्डीत श्री हरिकृष्ण रेग्मी हुनुहुन्छ । कार्यक्रम सात दिनसम्म चल्नेछ ।

महायज्ञमा भीडभाड गर्न निषेध गरिएको छ भने माइकमार्फत घरमै बसेर कथा एवं पाठ पारायण सुन्न अनुरोध गरिएको छ । महायज्ञमा कोरोना सङ्कट मुक्तिका लागि दीप प्रज्वलन, दीप पूजा, लक्ष्मी पूजा, गणेश पूजा, भागवत पाठपारायण, आरती भजन र भागवतको कथालगायतका कार्यक्रम दैनिकरुपमा गरिँदै आएको छ ।

Comment


Related News