अपडेट 
२०७७ बैशाख २९, सोमबार ०८:४७

मलंगवा ।चिनी मिलबाट पीडित सर्लाही धनकौल गाउँपालिकाका किसानहरुले रोकेका ट्रक छुटाउने विषयमा आइतवार बिबाद हुँदा ११ जना घाइते भएका छन् ।

चिनी मिलबाट किसानको भुक्तानीको विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकर्ता र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका कार्यकर्ताहरुबीच झडप भएको हो । झडपमा दुवै दलले आ–आफ्ना पक्षका कार्यकर्ताहरु घाइते भएका आरोप लगाएका छन्् ।

नेकपाका नेता अजयकुमार सिंहले किसानले भुक्तानी पाउने आधार तय गरेर मात्रै ट्रक छाड्न खोज्दा काँग्रेस कार्यकर्ताले विवाद गरी आक्रमणमा उत्रिएको आरोप लगाए । ‘सहमतिका बारेमा किसानलाई जम्मा पारेर जानकारी गराइरहेका बेला काँग्रेस कार्यकर्ताले ढुङ्गामुढासहित आक्रमण गरे’ उनले भने, काँग्रेसको आक्रमणमा परी नेकपाका विष्णु प्रसाद सिंह, नितेश सिंह, सुरेश सिंह, जोगेन्द्र सिंह, खुशीकान्त झा र रामेश्वरी देवी घाइते भएका छन् । उनीहरुको उपचार बरहथवामा भएको उनले बताए ।

तर काँग्रेसका प्रदेश सभा सदस्य वीरेन्द्र सिंहले नेकपाका समर्थकहरुले गरेको आक्रमणबाट मुकेश साह, मोहन राय, अमरेन्द्र कुमार साह, इलियाम मन्सुरी र शम्भु साह घाइते भएको बताए । घाइते शम्भु साहको घरमा तोडफोड समेत गरिएको उनले जनाए ।

जिल्लाका सुरक्षा अधिकारीसहित सबै सरोकारवालाबीच छलफल गरी चिनी बिक्री हुनासाथ सबै किसानलाई न्यूनतम ५० हजार रुपियाँ प्रदान गर्ने सहमति जुटिसकेको अवस्थामा आइतवार बिहान अचानक विवाद सिर्जना गरिएको उनले बताए ।नेकपा र जनता समाजवादी पार्टीका नेताले अनावश्यक विवाद गरेर माहोल बिगारेको सिंहले आरोप लगाए ।

अन्नपूर्ण चिनी उद्योग धनकौलमा मौज्दात रहेको चिनी लिन मध्यरातमा आएका छवटा ट्रक किसानले नियन्त्रणमा लिएका थिए । विक्री गरेको उखुको भुक्तानी नदिएसम्म ट्रक नछाड्ने अडान किसानले छाडेको छैन् ।

किसानले नियन्त्रणमा लिएका ट्रक धनकौल गाउँपालिकास्थित ईलाका प्रहरी कार्यालय हरकठवा र बसबरिया गाउँपालिकास्थित प्रहरी चौकी भवानीपुरमा राखिएकोछ । हरकठवामा रहेका चारमध्ये दुईवटा ट्रक खाली र दुईवटामा चिनी लोड रहेकोछ ।त्यसैगरि भवानीपुरमा रहेका दुबै ट्रकमा चिनी लोड गरिएको छ । प्रहरी कार्यालयमा थन्किएका ट्रक छाड्ने र किसानको बाँकी भुक्तानी दिलाउने छलफल चलिरहेको बखत नै झडप भएपछि शनिवारको सहमति बिथोलिएकोछ ।

भुक्तानीको आश जागेपनि दुई दलबीचको झडपले त्यो विथोलिएपछि किसानहरु निराश भएका छन् ।भुक्तानीका लागि लामो समयदेखि संघर्षगर्दै आएका किसानहरुका लागि ५० हजार तत्काल भुक्तानीबाट ठूलो राहत मिल्ने अपेक्षा थियो ।
यसैबीच सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले समस्या समाधान गर्न पहल थालेका छन् ।धनकौलमा सुरक्षा व्यवस्थालाई कडा बनाउन थप सुरक्षाकर्मी परिचालन गरिएकोछ ।


अन्नपूर्ण चिनी मिलले किसानलाई तीन÷चार वर्षदेखिको भुक्तानी दिएको छैन् ।मिलबाट चिनी झिक्नु अगाडी भुक्तानी दिने सहमति उल्लंघनगर्दै ट्रक पठाएपछि किसानहरुले नियन्त्रणमा लिएर प्रहरी चौकीमा थन्काएका थिए ।

Comment


Related News