अपडेट 
२०७७ बैशाख २९, सोमबार २३:५९

कलैया । तराई मधेश राष्ट्रिय दैनिकका प्रकाशक पवन यादवलाई कुटपिट गर्ने समूहका एकजनालाई प्रहरीले आज पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–३ भवानीपुरका छोटे मन्सुर रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । मन्सुरलाई घरबाट पक्राउ गरिएको हो भने बाँकी तीनजनाको खोजी भइरहेको उहाँले भन्नुभयो ।

पक्राउ परेका मन्सुरमाथि कुटपिट मुद्दा दर्ता गरी कारवाही अगाडि बढाएका छन् । पत्रकार यादवलाई कलैयाको भरतचोकस्थित पत्रिकाको कार्यालयबाट काम सकेर घर जाने क्रममा आइतबार बेलुका कलैया पिलुवा सडकखण्डअन्तर्गत अवधापुरमा चार जनाको समूहमा रहेका व्यक्तिले कुटपिट गरेक थिए । पत्रकार यादवका अनुसार कलैया उपमहानगरपालिका–२ अवधापुरस्थित हनुमान मन्दिरका पुजारी किशोरी दासलाई राति ८ः३० बजे चारजनाको समूहमा रहेका व्यक्तिले फोहर फोहर गाली गरिरहेको अवस्थामा सम्झाउन जाँदा उनीहरुले आफूलाई कुटपिट गरेको थियो ।

शरीरको विभिन्न भागमा चोट लागेका पत्रकार यादवको राति नै कलैया अस्पतालमा उपचार गरिएको थियो । उनको अवस्था समान्य रहेको छ । ती अपरिचित व्यक्तिले कुटपिट गर्नाका साथै क्यामरा, ल्यापटप र मोबाइल समेत फुटाई क्षति पु¥याएका छन् ।

पत्रकार यादवले भन्नुभयो, “गाँजा पक्रन लगाउने यिनै पत्रकार रहेको भन्दै पिट्न थालेको र नजिकै रहेका घरका महिलाले आफूलाई उद्धार गरी ज्यान बचाएको थियो ।” हेलमेट टाउकोमा लगाएका कारण आफू ठूलो क्षति हुनबाट जोगिएको उहाँको भनाइ छ ।

यसैबीच पत्रकार यादवमाथि भएको सङ्घातिक घटनाको नेपाल पत्रकार महासङ्घ बारा, नेपाल प्रेस सङ्गठन र नेपाल प्रेस युनियनले छुट्टाछुट्टै विज्ञप्ति निकालेर घटनाको घोर भत्र्सना गर्दै दोषीमाथि कडा कारवाही, उपचार र क्षतिपूर्तिको माग गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहानले पनि घटनाप्रति दुःख व्यक्त गर्दै पत्रकार यादवमाथि कुटपिट गर्नेलाई कडा कारवाही गर्न माग गर्नुभएको छ ।

Comment


Related News