अपडेट 
२०७७ बैशाख ३०, मंगलवार ०८:०१

जनकपुरधाम ।करोडौ हिन्दूहरुको आस्थाको केन्द्र जानकी मन्दिरमा उत्पन्न गुरु चेलाको विवादले तत्काल ठूलो क्षति पुगेकोछ ।मन्दिरको वार्षिक हुने केहि करोड आम्दानी महन्थ रामतपेश्वर दासको बोलीले तत्काल नै डुबाएकोछ ।

महन्थका कयौं चेला मध्येका एक रामरोशन दास बैकुण्ठ मार्गबाट यात्रा थालेका छन् ।उनको वखान महन्थ दासले आफ्नै पवित्र मुखार विन्दुबाट गरेपछि प्रदेश सरकारले दिदै आएको आर्थिक सहयोग बन्द भएकोछ ।अन्य सहयोगको बाटोपनि बन्द हुने निश्चित प्रायःछ ।

भारत मुम्बईका एकजना व्यवसायी पवन चौधरी(मैथिल ब्राम्हण)ले जानकी मन्दिरमा पछिल्लो केहि वर्षदेखि बृहत्त रुपमा आयोजना हुँदै आएको रामजानकी विवाह महोत्सव र जानकी नवमीको आयोजनाको सम्पूर्ण खर्च ब्यहोर्दै आएका थिए । मन्दिरका महन्थ दासले स्वयं यस्तो खुलासा गरेका हुन् ।

तर रोशन दासको कृयाकलापबाट दुखी उनी जानकी मन्दिरमा नआउने घोषणा गरेका छन् । उनले गर्दै आएको सहयोगपनि अब बन्द हुने भएकोछ ।

रोशन दास र शंकर साहको नामबाट मेगा बैंकमा सीताराम विवाहमहोत्सवको नामबाट खोलिएको खातामा रहेको ५३ लाख बढी रुपैया दुवैले मिलेर झिकेका छन् ।रकम झिकिएपछि बैंकले खाता बन्द गरेकोछ ।बिबाहपञ्चमी पछि सो खातामा जम्मा भएको रकम खाता सञ्चालक दास र साहको नामबाट सम्पूर्ण रकम झिएिकोछ ।खातामा हाल १० हजार मात्र बाँकी रहेको बताइन्छ ।

आवश्यक कागजात बिना नै खोलिएको सो खाता हाल बन्द भएको बताइएको छ ।गत वर्ष प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका लगायतका निकायहरुले दिएको चेक यसरी नै जम्मागरि झिकिएको हो ।

जानकी मन्दिरको आफ्नो खाता र हरहिसाब रहेपनि दास र साहले बैंकमा छुट्टै खाता खोलेर आर्थिक कारोबार गरेका छन् ।जानकी मन्दिरको खातामा जम्मा नहुने गरी चेक लिएर अलग खाता खोली आर्थिक कारोबार गर्नु अनियमितता भएको जानकारहरु बताउँछन् ।

‘छुट्टै खातामा मन्दिर बाहिरका व्यक्तिहरुको नामबाट भएको आर्थिक कारोबार जानकी मन्दिरको हिसाबमा देखिदैन्’ एकजना लेखा अधिकृतले भने, खाता खोल्ने, रकम उपलब्ध गराउने र बैंक समेत छानविनको दायरामा पर्ने भएकाले सम्बन्धित निकायले कार्वाही गर्न मिल्छ ।

यस सम्बन्धमा रामरोशन दाससित सम्पर्कगर्दा उनले खाता नबिल बैंकमा रहेको, सीताराम विवाहमहोत्सवको समिति कतै दर्ता नभएको र खाताबारे विस्तृत जानकारी समेत नभएको बताए ।तर खाता मेगा बैंकमा रहेकोछ ।

जानकी मन्दिरको चारै तर्फको छाना चुहिन थालेको छ ।‘मन्दिरको छतलाई शक्तिशाली एक दर्जन ड्रिलले कामगर्दा पुरै मन्दिर हल्लिएकोछ ’मन्दिरका महन्थ दासले भने, मन्दिरको अवस्था अत्यन्त जिर्ण भइसकेकोछ । मन्दिर परिसरमा लगाइएको मार्वलकोपनि उनले बिरोध जनाए ।‘कमसल मार्वल लगाएर मन्दिरलाई कमजोर बनाउने काम भएकोछ ’ उनले भने, मैले सबै निकायलाई जानकारी समेत गराइसकेको छु ।

रोशन दासले मन्दिरको परम्परा, हिन्दू संस्कृती विपरितको आचरण गरेको उनले आरोप लगाएपनि पछि ‘यू टर्न’ भएका छन् ।कतिपयले उनको बोली फेर्नुको कारण भय, त्रास रहेको बताउँछन् ।

उनका शिष्य पवन चौधरीले पनि गुरुजी अप्ठ्यारोमा परेको जनाउँदै मन्दिरमा भइरहेको अपवित्र कृयाकलापलाई तत्काल बन्द गर्न सम्बन्धित निकायले पहल गर्नुपर्ने माग गरेका छन् ।‘हमर गुरुजी एखन बहुत कष्टमे बुझा रहल अछि’ भारतीय नागरिक चौधरीले भने, हुनकर पछिलकक बोली सुनलासँ हमरा चिन्ता बढल अछि ।

जानकी मन्दिरको हरेक कार्यक्रममा सकृय सहभागिता जनाउँदै आएका महोत्तरी पिपराका भुषण बाबाले जानकी मन्दिरमा भइरहेको कृयाकलाप हिन्दूधर्ममाथिको आक्रमण रहेको बताए ।

‘रोशन दासले अक्षम्य अपराध गरेका छन्’ उनले भने, नेपाल र भारतमा कतैपनि उत्तराधिकारी र छोटा महन्थको परम्परा छैन् ।महन्थले चाहेको बेला शिष्यलाई अधिकारी घोषणा गर्न सक्छन् उनले भने, तर नेपालको कानुनमा त्यसको कुनै प्रावधान छैन् ।

मन्दिरमा मासिक ६ लाख भन्दा बढी खर्च रहेको महन्थ दास बताउँछन् ।त्यसका लागि रामजानकी बिबाहमण्ड, जानकी मन्दिर भित्रका म्युजियम, लक्ष्मण मन्दिर लगायतका सटरहरुबाट आउने भाडाले काम चलाइन्छ ।दानपेटीमा आउने रकमले पनि केहि सहयोग मिल्ने गरेको उनको मान्यता छ ।तर नेपाल सरकार लगायत यहाँका कुनै निकायबाट मन्दिर सञ्चालनका लागि रकम नलिने गरेको महन्थ दास दावी गर्छन् ।

भारतमा रहेका शिष्यहरुबाट प्राप्त हुने सहयोगले कुम्हमा खालसा, बिबाहमहोत्सवमा अयोध्याबाट जन्ती मगाउने लगायतका काम गरेको उनको कथन छ ।

पछिल्लो समयमा मन्दिरप्रति हिन्दूहरुको आस्था कमजोर बनाउने काम बढन थालेपछि विभिन्न संघसंस्थाहरुले ट्रस्ट बनाउन जोडदार माग गर्न थालेका छन् ।जनकपुरधाम उद्योग वाणिज्य संघले प्रदेश संयोजक शिवशंकर साह ‘हिरा’को संयोजकत्वमा समिति गठन गरेकोछ ।

राजनीतिक दलहरुले मन्दिरको आम्दानीको स्रोत, खर्च र व्यवस्थापनको प्रकृयालाई पारदर्शी बनाउन मागगर्दै ट्रस्ट बनाउन माग गरेका छन् ।

यसैगरि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष दिपेन्द्र साहको सकृयतामा सोमवार भएको सर्वपक्षिय छलफलले जानकी मन्दिरलाई ट्रस्ट बनाउन पहल गर्ने निर्णय गरेकोछ ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास स्वयंले तीन महिना पूर्व प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालय लगायत विभिन्न निकायहरुलाई पत्राचारगरि सीताराम विवाहमहोत्सव, जानकी नवमी लगायतका आयोजनहरुको नाममा हाल सम्म उपलब्ध गराएको रकमको माग गरेका छन् ।उनले उपलब्ध गराइएको रकम, त्यसको खर्च विवरण, स्वघोषित उत्तराधिकारी महन्थ रामरोशन दासको छानविन गर्न गरेको पत्राचारको जवाफ हाल सम्म नआएको बताइन्छ ।

जानकी मन्दिरको बिजुलीको महसुल बक्यौता एक करोडको हाराहारीमा पुगेकोछ ।बिबाहमण्डपको अवस्थापनि कुरुप बन्दै गएकोछ ।चर्किएका भित्ता र मण्डपको मर्मत संभार लामो समयदेखि हुन सकेको छैन् ।

Comment


Related News

Latest News

Trending News