अपडेट 
२०७७ जेष्ठ १, बिहीबार ११:०६

जनकपुरधाम ।धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने तीन जनामा कोरोना भाइरस पोजेटिव पुष्टि भएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार राती पुष्टि गरेको २६ जना मध्ये जनकपुरधाम उपमहानगरपालिकाका ४० र ३५ वर्षिय पुरुष रहेका छन् ।एकजना धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर १० लालगढकी २५ वर्षिया महिला पोजेटिव रहेको पुष्टि भएकोछ ।महिला २ महिना पूर्व भारतको राजधानी नयाँदिल्लीबाट फर्केर आएकी छन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाका अनुसार पति र एकजना बच्चासँगै महिला होम क्वारेन्टाइनमा बस्दै आएकी थिइन् ।बच्चा र पतिको रिर्पोट निगेटिव आएको र महिलाको रिर्पोट पोजेटिव रहेको मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले जनाए ।उनले महिलालाई उपचारका लागि जनकपुरस्थित कोरोना अस्पतालमा पठाइएको बताए ।

जनकपुर उप महानगरपालिका ४ बस्ने ४० वर्षिय पुरुष पत्रकार हुन् । जनकपुरबाट प्रशारण हुने एउटा टीभी च्यानल र एउटा स्थानीय पत्रिकामा कार्यरत्त छन् । पत्रकारको उठबस हुने स्थानमा पुस्तक व्यवसाय सञ्चालन गर्ने एकजना व्यवसायीपनि संक्रमित छन् । ३५ वर्षिय पुरुषको स्थायी घर महोत्तरीको जलेश्वर नगरपालिका ३ भएपनि उनी जनकपुरधाम–४मा बस्दै आएका छन् ।

त्यहाँ अन्य पत्रकारहरुको समेत आनजान रहेकोछ ।संक्रमित पत्रकारको स्वाब परीक्षण गत बुधवार भएको थियो ।जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा निगेटिव रिर्पोट आएको थियो ।टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पुनःपरीक्षणमा उनको रिर्पोट पोजेटिव आएको हो ।संक्रमित तीनैजनालाई प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा भर्ना गरिएकोछ ।उनीहरुका परिवारका सदस्यहरुलाइ होम क्वारेन्टाइनगरि स्वाब संकलनको काम भएको प्रदेश २ को समाजिक विकास मन्त्रालयले जनाएकोछ ।

मन्त्रालयका अनुसार संक्रमितहरुको ट्रेसिंगको काम सुरु गरिएको छ ।पहिलो पटक एकै दिन धनुषामा ३ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् ।यस अघि यहाँ संक्रमित देखिएको थिएन् ।कोरोना भाइरस संक्रमितहरुको उपचारका लागि प्रादेशिक अस्पतालको मातहतमा छुट्टै ६० शैय्याको कोरोना अस्पताल सञ्चालन गरिएकोछ ।

‘कोभीड–१९को २ स्तरको अस्पताल प्रदेशको अस्थायी राजधानीमा सञ्चालन गरिएकोछ’ समाजिक विकास मन्त्री नवलकिसोर साहले भने, यहाँ संक्रमितहरुको उपचार, गर्भवती महिलाको उपचार र प्रसुती गराउने लगायतका कार्य हुनेछ ।
आवश्यकता अनुसार भेन्टिलेटरमा पनि उपचार गर्न मिल्ने अस्पताल रहेकाले प्रदेशका गंभीर प्रकृतीका संक्रमितहरुलाई ल्याएर उपचार गर्न सकिने मन्त्री साहले बताए ।
प्रदेशमा उपचारको गतिलाई बढाउन थप दुईवटा पीसीआर मेसिन प्रादेशिक अस्पताल र राजविराजको अस्पतालमा जडान गर्न लागिएको उनले बताए ।

जनकपुरधाममा पीसीआर मेसिन पशु स्वास्थ्य केन्द्र कदम चोकको नवनिर्मित प्रयोगशालामा जडान हुने बताइएकोछ ।हालसालै निर्माण भएको ल्याबमा पीसीआर टेस्ट गरिने भएपछि प्रादेशिक अस्पतालको सबै नियमित सेवाहरु सञ्चालन रहने मन्त्री साहले जनाए ।‘नारायणी अस्पतालमा रहेको ६० वटा वेडमा संक्रमितहरु भर्ना भइसकेरपनि करिब २० जना बाहिर छन्’ मन्त्री साहले भने, कलैया अस्पतालमा उपमहानगरपालिकाले संक्रमितलाई राख्न असहयोग गरिरहेकाले केहि समस्या आएकोछ ।पर्सा जिल्लाको पोखरिया स्थित २५ वेडको अस्पताललाई तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएको उनले बताए ।


महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा पनि आइसोलेशनको व्यवस्था गरिएकोछ ।त्यहाँपनि समान्य प्रकृतीका संक्रमितहरुलाई राखेर उपचार गरिने छ ।‘संघीय सरकारले प्रदेश २ लाई पूर्ण रुपमा उपेक्षा गरेकोछ’ मन्त्री साहले भने, प्रदेश स्तरबाट नै उपचार र टेस्टको प्रबन्ध मिलाइएकोछ ।

आवश्यक स्वास्थ्य सामग्रीहरुको अभाव भएपनि टेस्ट र उपचारमा कमि आउन नदिएको मन्त्री साहले दावी गरे ।राष्ट्रिय प्रयोगशालाकी निर्देशिका डा.रुना झाले प्रादेशिक अस्पताललाई कमसल पीसीआर मेसिन जिम्मा लगाएकी आरोप लागेकोछ ।प्रादेशिक ल्याबले परीक्षण गर्न अस्वीकार गरिसकेपछि उनले फेरी त्यस्तै मेसिन जिम्मा लगाएकी थिइन् ।यद्यपी संघीय सरकारले ठूलो र विश्वसनिय पीसीआर मेसिन दिने तयारी गरेको थियो ।पत्रकारको गत बुधवार निगेटिव आएको रिर्पोट मंगलवार पोजेटिव आएको छ ।

धनुषा, महोत्तरी र सर्लाहीको गरी ५ जना संक्रमितहरुलाई प्रादेशिक अस्पतालको मातहत सञ्चालित कोरोना अस्पतालमा उपचार भइरहेकोछ ।धनुषाका ३, महोत्तरीका १ र सर्लाहीका १ जना मानसिक रोगी संक्रमित छन् ।

Comment


Related News

Latest News

Trending News