अपडेट 
२०७७ जेष्ठ २, शुक्रबार १२:४०

जनकपुरधाम । गत बैशाख २८ गते मृत फेला परेका महोत्तरीको गौशाला नगरपालिका ४ विर्ताका दिलिप ठाकुरको आफ्नै साथीबाट हत्या भएको खुलेको छ । ठाकुरलाई उनकै साथी अरुण साहले हत्या गरेको खुलेको महोत्तरी प्रहरीले जनाएको छ ।

४६ बर्षीय ठाकुर र २५ बर्षीय साह २८ गते बिहानै रक्सी पिएर घुम्ने क्रममा दुबैबीच विवाद भएको र त्यस क्रममा साहले बाँसको भाटाले उनीमाथि प्रहार गर्दा उनको ज्यान गएको पाइएको महोत्तरीका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

ठाकुरको मृत्यु भएपछि फरार भएका अरुण कुमार साहलाई बुधबार नियन्त्रणमा लिएपछि उनले रक्सी पिएर भनाभन हुँदा बाँसको भाटा प्रहार गरेको स्वीकारेको अधिकारीले बताए । ठाकुर र साह दुबै छिमेकी हुन् ।

‘बिहान दुबै जना रक्सी पिएर मकै बारीसम्म गएका रहेछन्’ एसपी अधिकारीले भने, “त्यहीं दुईबीच भनाभन हुँदा बाँसको भाटा प्रहार गरेको साहले आफ्नो बयानमा भनेका छन् ।”

साहलाई महोत्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गराई अन्य अनुसन्धान शुरु गरिएको एसपी अधिकारीले बताए ।

Comment


Related News