अपडेट 
२०७७ जेष्ठ ३, शनिबार ०७:२०

सप्तरी । भारतको दिल्लीबाट आएका सप्तरीका बोदे बर्साइन नगरपालिकाका एक जना वडा अध्यक्षका छोरालाई क्वारेन्टाइनमा राखिएको छ । दिल्लीबाट आएपनि घरमा राखिएको भन्दै स्थानीयले आवाज उठाएपछि वडा अध्यक्षले आफ्ना छोरालाई क्वारेन्टाइनमा राखेका हुन् ।

बोदे बर्साइन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष जयराम साहका छोरालाई वडा नम्बर ५ स्थित चन्द्र माविको क्वारेन्टाइनमा राखिएको छ । उनका छोरा बुधबार राति दिल्लीबाट यहाँ आएका हुन् ।

आफ्नो छोरालाई क्वारेन्टाइनमा राख्न धेरै प्रयास गर्नुपरेको वडा अध्यक्ष साहले बताए । छोरालाई बोलाएर घरमै राखेको भनिएका उनले क्वारेन्टाइनका कर्मचारीले नै आफ्नो छोरालाई राख्न नमानेको बताए ।

बोदे बर्साइन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष जयराम साहले भारतको राजधानी नयाँ दिल्लीमा इन्जिनियरिङ्ग अध्ययन गर्दै आएका आफ्ना छोरालाई गत बुधबार बोलाएका थिए । कोरोना संक्रमणबाट बच्न भन्दै लक डाउन लगाइएपछि बुधबार राति आएका उनका छोरा घरमै रहेको पाइएपछि वडा अध्यक्षले क्वारेन्टाइनमा राख्न नमानेकाले छोरा फर्केर घर आएको प्रतिकृया दिएका छन् ।

उनले क्वारेन्टाइनमा छोरालाई ल्याएपनि सुरक्षाकर्मीको आदेश भन्दै क्वारेन्टाइन कर्मचारीले नमानेको बताए । ‘शुक्रबार बिहान ४ बजे नै छोरालाई लिएर क्वारेन्टाइन आएको छु’ उनले भने, “तर यहाँका कर्मचारीले सुरक्षाकर्मीले भारतबाट आएका व्यक्ति नराख्न सुरक्षाकर्मीले भनेकाले राख्दैनौं भनेका छन् ।”

यद्यपी सशस्त्र प्रहरी पोष्ट बोदे बर्साइनका प्रमुख प्रहरी निरीक्षक हिमाल केसीले त्यस्तो केहि नभएको बताए । उनले भारतबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा राखिने गरेको बताउँदै वडा अध्यक्षको छोरालाई पनि राखिने बताए । उनले केहि बेर बाहिर मात्र उनका छोरालाई बस्नुपरेको बताउँदै क्वारेन्टाइनभित्र राखिइसकिएको प्रतिकृया दिए ।

Comment


Related News

Latest News

Trending News