अपडेट 
२०७७ जेष्ठ ३, शनिबार १०:४२

दाङ । दाङका स्थानीय सरकारले वडावडामा क्वारेन्टाइन निर्माण शुरु गरेका छन् । भारतबाट धेरै नागरिक फर्कन खोजिरहेको हुँदा उनीहरु फर्केपछि राख्नका लागि र पालिकाभित्र फैलन सक्ने सङ्क्रमण रोकथामका लागि क्वारेन्टाइन निर्माण थालिएको हो ।

मजदूरीका लागि भारत पुगेका करीब १० हजार नागरिक तत्काल फर्किने अनुमान गर्दै बंगलाचुली गाउँपालिकाले आठ वडामा क्वारेन्टाइन निर्माण शुरु गरेको पालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिनुभयो । त्यहाँ रहेका करीब १२ विद्यालय र सामुदायिक भवनमा क्वारेन्टाइन निर्माण गर्न लागिएको छ ।

दाङको सीमा भारतसँग जोडिएको छ । सीमानाकाबाट मात्र नभएर जङ्गलको बाटो भएर पनि भारतमा रहेका कतिपय नेपाली घर फर्किरहेका छन् । कतिपय एम्बुलेन्सको दुरुपयोग गरेर पनि घर फर्किरहेका छन् । उनीहरुलाई प्रहरीले पक्राउ गरेर जबर्जस्ती क्वारेन्टाइनमा राखेको छ ।

अहिले जिल्लामा दश पालिकाले ३८८ क्वारेन्टाइन निर्माण गरेका छन् । त्यसमध्ये घोराही र तुलसीपुर उपमहानगरले सयसय शय्याको क्वारेन्टाइन तथा अन्य पालिकाले १० देखि ६० सम्म क्वारेन्टाइन निर्माण गरेका छन् ।

घोराही उपमहानगरका उपप्रमुख सीता सिग्देलले तत्काल रझेना माध्यमिक विद्यालय, सर्रास्थित बाल अस्पताल र परिवार नियोजन कार्यालयसँग क्वारेन्टाइन कक्ष निर्माणका लागि अनुमति लिइसकेको बताउनुभयो ।

तुलसीपुर उपमहानगरले पनि सभाकक्ष, उद्योग वाणिज्य संघको कक्ष, सामुदायिक विद्यालय र होटेललाई क्वारेन्टाइन बनाउने तयारी गरेको छ । नगरका प्रवक्ता श्याम डाँगीले पालिकाका कोरोना कोषमा रकम बढाउने क्रम जारी रहेको जानकारी पनि दिनुभयो ।

बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले अहिले पालिकाले पनि आफ्ना सभाकक्ष र विद्यालयलाई तत्काल प्रयोगमा ल्याउने बताउनुभयो । अहिले बबईमा अन्य पालिकाका तुलनामा धेरै ६३ जना भारतबाट फर्किएकाहरु क्वारेन्टाइनमा बसिरहेका छन् ।

तुलसीपुरको बेलझुण्डीमा प्रदेश सरकारले १०० शय्याको कोरोना विशेष अस्पताल स्थापना गरेको छ । घोराही उपमहानगरले वडा नम्बर ३ को कुुइरेपानीमा १०० शय्याको क्वारेन्टाइन स्थापना गरेको छ जहाँ एक विशेषज्ञ चिकित्सकसहित ६ स्वास्थ्यकर्मी खटाइएको छ ।

तुलसीपुर उपमहानगरले १०० शय्या, बबईमा ५०, लमहीमा ३५, गढवामावा १०, राजपुरमा २५, राप्तीमा २५, शान्तिनगरमा १० र दंगिशरणमा ३० शय्याको क्वारेन्टाइन स्थापना गरिएको छ । त्यहाँ तीनदेखि ६ जनासम्म स्वास्थ्यकर्मी खटाइएका छन् ।

दाङमा स्थापित क्वारेन्टाइनमा अहिले १४४ जना क्वारेन्टाइनमा रहेका छन् । उनीहरुलाई खानाबस्नसहित स्वास्थ्य जाँचको पनि व्यवस्था गरिएको छ ।

Comment


Related News