
जनकपुरधाम । सिरहामा देखापरेको कोरोना संक्रमितको यसअघि पनि पिसिआर परीक्षण भएको पाइएको छ । यसअघि पिसिआर परीक्षण गर्दा नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो ।
३० बर्षीय संक्रमित पुरुष जिल्लाको सखुवा नन्कारकट्टी गाउँपालिका १ का हुन् । उनी गत फागुन २८ गते मलेसियाबाट आएका थिए । मलेसियाबाट आए लगत्तै उनलाई रुघाखोकी र ज्वरो देखा पर्दा लाग्दा आइसोलेसनमा राखी पिसिआर परीक्षण समेत गरिएको प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाइँले बताए ।
‘त्यत्ति बेला बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा परीक्षण गराउँदा उनको रिपोर्ट नेगेटिभ आएको थियो’ उनले भने, “त्यसपछि उनलाई छाडिएको थियो ।”
पछिल्लो पटक गत बैशाख २८ गते उनको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको उनले बताए । ‘अहिलेसम्मको हाम्रो अनुमान त्यहीं व्यक्ति नै हो’ उनले भने, “थप कुरा हामी पत्ता लगाउँदैछौं ।”
स्वास्थ्य मन्त्रालयले सिरहामा फेला परेका संक्रमित सखुवा १९ का ३० वर्षीय पुरुष बताएपछि संक्रमित खोज्न यहाँका जनप्रतिनिधी र प्रशासकलाई सास्ती व्यहोर्नुपरेको थियो । सखुवा भन्ने ठाउँ नभएको र सखवुा नन्कारकट्टी गाउँपालिका रहेपनि जम्मा ५ वडा मात्रै रहेकाले संक्रमित खोज्न समस्या भएको थियो ।
सिरहामा एक जना संक्रमित देखिएसँगै प्रदेश २ का आठ वटै जिल्लामा संक्रमण देखापरिसकेको छ ।