अपडेट 
२०७७ जेष्ठ ६, मंगलवार ०९:४३

सप्तरी । मान्छेको मृत्यु हुन्छ । उनका परिवारलाई यो जानकारी हुँदैन् । अस्पतालमा शवको पोष्टमार्टम पनि हुन्छ । तर शव परिवारले बुझ्दैनन्, अर्कैले बुझ्छन् । यसपछि परिवारका सदस्य अझ अन्यौलमा पर्छन् ।

घट्ना सप्तरी जिल्लाको हो । र, मृतक जनप्रतिनिधी । करिब डेढ् महिनाअघिदेखि वेपत्ता रहेकी खड्क नगरपालिका वडा नम्बर ११ की सदस्य दुर्गाकुमारी साहको मृत्यु भएपनि अर्कै व्यक्तिले शव बुझेको पाइएको छ । आफ्ना पति हुँदाहुँदै गाउँकै व्यक्तिले आफ्नो पत्नी भएको भन्दै शव बुझेका छन् ।

उनको मृत्यु कहिले र के कारणले भएको हो ? भन्ने खुल्न सकेको छैन् । उनको मृत्यु सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा भएको देखिएको प्रहरीको भनाई छ । ‘गत बैशाख १२ गते नै उनको मृत्यु अस्पतालमा भएको देखिएको छ’ इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी शरद कुमार क्षेत्रीले भने, “शव भने उनकै गाउँका लारायण साह भन्ने व्यक्तिले बुझेको पाइएको छ ।”

दुर्गादेवीका पति देवीलाल साह हुन् । तर लारायण भन्ने व्यक्तिले आफ्नो पत्नी भन्दै शव बुझेको पाइएको प्रहरीको भनाई छ ।

आफ्नो पत्नी भन्ने लारायणले अस्पतालमा दुर्गादेवीको मृत्यु भएपछि पोष्टमार्टमसहितका प्रकृया छिटो गरिदिन प्रहरीलाई भनेका थिए । ‘आफ्नो पत्नी भनेपछि त्यसबेला हामीले अन्य केरकार गरेनौं’ डिएसपी क्षेत्रीले भने, “अस्पतालमा पनि भिटामिनको कमीले मृत्यु भएको देखिएको र लारायणले पत्नी भनेपछि अन्य कुरातर्फ ध्यान दिएनौं ।”

डिएसपी क्षेत्रीका अनुसार दुर्गादेवी र लारायण तीन महिनादेखि लहानमा बस्दै आएका थिए । स्थानीयसँग समेत घुलमिल भइसकेका यी दुबै व्यक्तिले आफूलाई पति पत्नी भनेर चिनाएका थिए । ‘हामी नैसबै कुरा बुझ्ने भगवान त होइनौं’ डिएसपी क्षेत्रीले भने, “अब सबै कुरा खुल्न लागेको छ । हामी पोष्टमार्टम रिपोर्टको प्रतिक्षामा छौं । रिपोर्ट आएपछि अनुसन्धानका अन्य बिषयलाई अगाडि बढाउँछौं ।”

वडा सदस्य दुर्गादेवी भने देवीलालका कान्छी पत्नी हुन् । यी दुबैबाट चार जना छोरी जन्मिए । यसमध्ये दुई जना छोरीको विवाह भइसकेको छ भने दुई जना घरमै छन् ।

कान्छी पत्नी भएपनि यी दुबैबीचको सम्बन्ध पछिल्लो समय चिसिएको थियो । स्थानीय तहको निर्वाचनको समयमा दुर्गादेवीले आफ्नो नाममा भएको १५ कठ्ठा जग्गा परिवारसँग सल्लाह नै नगरी बिक्री गरेकी थिइन् ।

जग्गा बिक्री गरेको पाइएपछि परिवारमा विवाद भएको थियो । विवादका क्रममा दुर्गादेवीले जग्गा बराबरको रकमको जोहो गरिदिने बताएको स्थानीयको भनाई छ । तर उनले अन्य सम्पति पनि खर्च गर्दै जाँदा गाउँमा पञ्चायती नै बसाउनुपरेको थियो । पञ्चायतीमा दुर्गादेवीले अब गल्ती नगर्ने बताएपछि गाउँलेले दुबैलाई मिलेर बस्न सुझाव दिएका थिए ।

तर, दुर्गादेवी रकम खर्च गर्न नरोकेको भन्दै उनका पति देवीलालले उनीसँग सम्बन्ध विच्छेद नै गरेका थिए ।यसपछि दुर्गादेवी लारायणसँग लहानमा बस्दै आएकी थिइन् । लारायण भने दुर्गादेवीका सम्धी रहेको स्थानीयले बताएका छन् ।

दुर्गादेवीको मृत्यु भएको खबर बाहिरिएसँगै उनका सम्धी लारायण भने फरार भएको वडा अध्यक्ष रामकृष्ण चौधरीले बताए । उनले लारायणलाई पक्राउ गरेर घट्नाको अनुसन्धान गर्नुपर्ने बताए ।

Comment


Related News

Latest News

Trending News