अपडेट 
२०७७ जेष्ठ ६, मंगलवार २२:४१

जनकपुरधाम । प्रदेश सरकारले छिमेकी मुलुक भारतबाट ठूलो सङ्ख्यामा भित्रिने प्रदेशवासीलाई क्वारेन्टिन गर्नका लागि थप क्वारेन्टिन निर्माण तथा क्षमतामा वृद्धि गर्नेतर्फ केन्द्रित भएको छ । यस प्रदेशको आठवटै जिल्ला भारतसँग जोडिएको र भारतमा रहेका यस प्रदेशका मजदूर, अध्ययन गर्ने विद्यार्थी र व्यवसायी लगायतका व्यक्तिहरु ठूलो सङ्ख्यामा सीमावर्ती क्षेत्रमा आएको र अहिले पनि आउने क्रम जारी रहेकाले उनीहरुलाई व्यवस्थित ढङ्गले क्वारेन्टिन गर्नुपर्ने भएकाले क्वारेन्टिनको सङ्ख्यामा वृद्धि गर्नुपर्ने देखिएकाले केन्द्रित भएको हो ।

यस प्रदेशमा यतिखेर १८१ वटा क्वारेन्टिन छ । यसको क्षमता पाँच हजार ६९७ श्ययाको छ । ती क्वारेन्टिनमा अहिले तीन हजार ३६२ जना बसेका छन् । शुरुको अवधिमा चैतको दोस्रो सातामा मात्र ८६ वटा क्वारेन्टिइन थियो । समयको मागलाई ध्यानमा राखी प्रदेश सरकारको समन्वय तथा सहयोगमा स्थानीय तहरुमा क्वारेन्टिनको सङ्ख्याका साथै श्ययाको सङ्ख्यामा वृद्धि गर्दै सो सङ्ख्याको क्वारेन्टिन सञ्चालित अवस्थामा छन् ।

यस प्रदेशको १८१ वटा क्वारेन्टिनमध्ये सप्तरी जिल्लामा एक हजार ४५ श्ययाको ३६ वटा क्वारेन्टाइनमा ६९८, सिरहामा ८११ श्ययाको २४ वटा क्वारेन्टिनमा ४०३, धनुषामा ४३८ श्ययाको १७ वटा क्वारेन्टिनमा ३०७ र महोत्तरीमा ६४८ श्ययाको १९ वटा क्वारेन्टाइनमा ४२१ जना बसेका छन् । त्यस्तै, सर्लाहीमा ६४१ श्ययाको ३७ वटा क्वारेन्टिनमा २७८ जना, रौतहटमा ७९५ श्ययाको १९ वटा क्वारेन्टिनमा ४९१, बारामा ६३८ श्ययाको १७ वटा क्वारेन्टिनमा ४११ र पर्सामा ६८१ श्ययाको १९ वटा क्वारेन्टिनमा ३९३ जना बसेको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले स्थानीय तहको समन्वयमा आवश्यकताअनुसार क्वारेन्टिनको निर्माण गरिरहेको भए पनि एक्कासि ठूलो सङ्ख्यामा भारतबाट भित्रिएको अवस्थामा व्यवस्थापन गर्नका लागि सीमावर्ती क्षेत्रमा गुणात्मक रुपमा क्वारेन्टिनको सङ्ख्यामा वृद्धि गर्नुपर्ने देखिएको छ ।

गर्मी र वर्षाबाट राहत हुने खालको क्वारेन्टिन स्थल हुनुपर्ने, विश्व स्वास्थ्य सङ्गठनले क्वारेन्टिनका लागि निर्धारित गरेका मापदण्डका आधारमा निर्माण हुनुपर्ने सम्बन्धमा प्रदेशका कतिपय बुद्धिजीवीको सुझाव रहेको छ । समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले पटक–पटक क्वारेन्टिनको सम्बन्धमा गुनासाहरु आइरहेको र क्वारेन्टिनको अनुगमन गर्न गठित समितिलाई आह्वानसमेत गर्नुभएको बताउनुहुन्छ ।

क्वारेन्टिनमा रहेका व्यक्ति वा कोरोनाबाट सङ्क्रमणको आशङ्का देखिएमा त्यस्ता व्यक्तिलाई आइसोलेशनमा राखिने गरिन्छ । यस प्रदेशमा अहिले ४३२ श्यया आइसोलेशन रहेको छ । सोमध्ये सप्तरीमा ६७ श्ययाको आइसोलेशनमा अहिले एक, सिरहामा ४८ श्ययाको आइसोलेशनमा एक र धनुषाको ४० श्ययामा आठजना बसेका छन् । महोत्तरीको ३७, सर्लाहीमा १५ र ४६ वटा आइसोलेशन श्यया छन् । यी तीनवटै जिल्लाको आइसोलेशनमा अहिले कोही रहेका छैनन् भने मन्त्रालयले जनाएको छ । रौतहटको ५० श्ययाको आइसोलेशनमा १० र पर्साको १२९ श्ययाको आइसोलेशनमा ९६ जना बसेका छन् ।

कोरोना सङ्क्रमितको सङ्ख्या १३३ पुग्यो

प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १३३ पुगेको छ । यसअघि, यस प्रदेशमा कोरोना सङ्क्रमित १३१ रहेकामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार राति कोरोनासम्बन्धी जारी गरिएको विज्ञप्तिमा धनुषामा दुईजना सङ्क्रमित पुष्टि गरेपछि सो सङ्ख्या पुगेको हो ।

प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक हरिशचन्द्र साहले दुवै सङ्क्रमित धनुषाको नगराइन नगरपालिको गङ्गुलीस्थित प्रादेशिक क्वारेन्टिनमा रहेको जानकारी गराउनुभयो । दुवै जना जनकपुर उपमहानगरपालिकाका बासिन्दा हुन् । एकजना जनकपुर–६ बस्ने ४५ वर्षीय पुरुष र अर्को जनकपुर–२१ बस्ने २१ वर्षीय युवक हुन् । दुवै जना भारतको विहार राज्यबाट जेठ १ गते सो क्वारेन्टिइनमा आएको थियो । उनीहरुको जेठ २ गते स्वाबको नमूना सङ्कलन गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News