अपडेट 
२०७७ जेष्ठ ७, बुधबार ०८:५४

सप्तरी । सप्तरीका राजनीतिक दलका नेताहरुले यहाँ निर्माण गर्ने भनिएको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चालू आ.ब.मा बजेटको व्यवस्था नगरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

संघीय सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने बताएपछि यसको जग्गाको समेतखोजी भइसकेको अवस्थामा बजेट नदिनु बिडम्बना भएको उनीहरुको भनाई छ ।

यस पटकको नीति तथा कार्यक्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई समावेश नगरेपछि जिल्लास्थित राजनीतिक दलका प्रमुखहरु संशकित भएको बताएका छन् । उनीहरुले संयुक्त बिज्ञप्ती जारी गर्दै स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणका लागि बजेटमा समावेश गरी निरन्तरता दिन माग गरेका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष अशोक मण्डल, नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश यादव र समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवले संयुक्त बिज्ञप्ती जारी गर्दै प्रतिष्ठानको बजेटलाई निरन्तरता दिन माग गरेका छन् ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणका लागि राजविराज नगरपालिकाले ६० बिघा जग्गा दिने निर्णय गरेर प्रतिष्ठानको नाममा दर्ता गराउन मन्त्री परिषद्बाट निर्णय गराउन भूमी व्यवस्था मन्त्रालयमा पठाएपनि थन्काइएको जिल्ला समन्वय समितिका सभापति यादव बताउँछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ३ भदौ २०७५ मा प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्दै गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नामबाट स्वास्थ्य विज्ञान प्रतिष्ठान सिंहकै गृह जिल्ला सप्तरीमा यथासिघ्र निर्माण थालनी गर्ने बताएका थिए ।

Comment


Related News

Latest News

Trending News