अपडेट 
२०७७ जेष्ठ ७, बुधबार २०:०८

काठमाण्डु। कोभिड-१९ को महामारी शुरु भएदेखि नै वैज्ञानिकहरूले कोरोना भाइरस र यसले मानिसलाई पार्ने असरबारे अध्ययन गरिरहेका छन्। शुरुदेखि नै चिकित्सकहरूले वृद्ध उमेर समूहका र मुटु रोगजस्ता दीर्घरोगीहरूलाई यसको जोखिम बढी हुने ठहर गरेका छन्।

नेपालमा पनि मुटुरोगी प्रशस्त छन्। त्यसैले यसको जोखिम यहाँ पनि छ। त्यसो भए यो भाइरसले कसरी असर पार्छ भन्‍नेबारे अमेरिकी चिकित्सकहरूले तयार पारेका केही जानकारी लिऔं।

मुटु र फोक्सोको सम्बन्ध
यो श्‍वासप्रश्‍वासजन्य रोग हो अर्थात् यसले खासगरी फोक्सोलाई असर पुर्‍याउँछ। फोक्सो र मुटुबीच गहिरो सम्बन्ध छ।

श्‍वासप्रश्‍वास क्रियामार्फत् प्राप्त अक्सिजन फोक्सोमा पुगेपछि रगतका राता रक्तकोषमा टाँसिन्छन्। त्यो अक्सिजनयुक्त रगत मुटुमा पुग्छ। मुटु पानी तान्‍ने पम्पजस्तै हो।

यसले फोक्सोबाट आएको अक्सिजनयुक्त रगत पम्प गरेर शरीरभरी पुर्‍याउँछ। शरीरका विभिन्‍न स्थानमा पुगेका अक्सिजनयुक्त रगतले उपापचय प्रक्रिया (मेटाबोलिज्म) मा मुख्य भूमिका खेल्छ।

हामीले खाने खानामा भएको कार्बोहाइड्रेट पाचन प्रक्रियामा टुक्रिएर ग्लुकोज बन्छ। त्यो ग्लुकोजसँग यसरी रगतको माध्यमबाट पुगेको अक्सिजनले रासायनिक प्रतिक्रिया गरी कार्बनडाइअक्साइड, पानी र ऊर्जा उत्पन्‍न हुन्छ।

पानी पिसाबबाट बाहिरिन्छ। ऊर्जा शरीर सञ्‍चालनमा उपयोग हुन्छ। बाँकी रहेको कार्बनडाइअक्साइड फेरि राता रक्तकोषसँग टाँसिएर मुटुमा आइपुग्छ।

त्यसरी आइपुगेको कार्बनडाइअक्साइडयुक्त रगतलाई पम्प गरेर फोक्सोसम्म पुर्‍याउने काम पनि मुटुले नै गर्छ। फोक्सोमा पुगेको कार्बनडाइअक्साइडयुक्त रगतमा भएका राता रक्तकोषमा टाँसिएका कार्बनडाइअक्साइड छुट्टिन्छन् र त्यसैमा अक्सिजन टाँसिन्छन्।

श्‍वासप्रश्‍वास प्रणाली र रक्तसञ्‍चार प्रणाली मिलेर यसरी जीवनको चक्र चलाइरहेका हुन्छन्।

सारमा भन्दा, मुटु र फोक्सो मिलेर शरीरमा अक्सिजनको सुनिश्चितता गरिरहेका हुन्छन्। कथंकदाचित् फोक्सोले पूर्ण रूपमा काम गरेन भने मुटुलाई शरीरभरि अक्सिजनयुक्त रगत पुर्‍याउन गाह्रो हुन्छ।

निम्‍न रोग भएका व्यक्तिलाई कोभिड-१९ को जोखिम बढी हुन्छः

  • जटिल मुटु रोग
  • मधुमेह
  • उच्च रक्तचाप
  • पहिला हृदयाघात भएको

यी रोग भएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भयो भने गम्भीर लक्षण देखिन्छन्।

मुटुरोगीका लागि जोगिने उपाय
जोखिम बढी हुनुको अर्थ रोग लागिहाल्छ भन्‍ने होइन। कोरोना भाइरसको संक्रमण भइहाल्यो भने पनि उपचार हुँदै हुँदैन भन्‍ने पनि होइन। तथापि, जोगिने उपाय अपनाउनु नै सबैभन्दा उचित विकल्प हो। ती उपाय निम्‍न हुनसक्छन्ः

  • कम्तिमा २० सेकेन्ड लगाएर राम्रोसँग साबुनपानीले हात धुने।
  • सकेसम्म अनुहार नछुने।
  • आफूले छोइरहने ढोकाको चुकुल, लाइट स्विच, फोन र किबोर्ड सफा गरिरहने।
  • सकेसम्म घरमै बस्‍ने।
  • बाहिर निस्कनै परे भौतिक दूरी कायम गर्ने।
  • नियमित सेवन गर्दै आएको औषधि केही समयका लागि जम्मा गरिरहने। सकेसम्म नछुटाउने।
  • केही संकेत देखापरे डाक्टरसँग सल्लाह लिने, नआत्तिने। कसैले भनेको भरमा औषधि नखाने।

यी अवस्थामा डाक्टरकोमा गइहाल्नुपर्छ

  • छाती दुख्‍ने वा असजिलो हुने भएमा
  • सास फेर्न गाह्रो भएमा
  • पखाला लागेमा
  • स्वाद र गन्ध थाहा नपाउने भएमा
  • घाँटी सुन्‍निएमा
  • चिसो लागेमा
  • मांसपेशी दुखेमा
  • टाउको दुखेमा
  • थकान महसुस भएमा

भविष्यका लागि मुटु जोगाउनुहोस्
विश्‍वव्यापी महामारी कोभिड-१९ का कारण हाम्रो दैनिक जीवनचर्या खलबलिएको छ। यस्तो बेला स्वस्थकर अभ्यास नहुन पनि सक्छ।

तर भविष्यका लागि मुटु जोगाउन व्यायाम गर्न छोड्नुहुँदैन। मुटु जोगाउन ‘अमेरिकन हर्ट एसोसिएसन’ले दिएको टिप्स यस्तो छ-

  • हप्ताको कम्तिमा एक सय ५० मिनट मध्यम प्रकारको एरोबिक कसरत गरौं।
  • दिनमा २० देखि ३० मिनट, हप्ताको पाँचदेखि सात दिन नियमित व्यायाम गरौं।

(क्लेभल्यान्ड क्लिनिकले तयार पारेको सामग्रीको सहयोगमा)

Comment


Related News

Latest News

Trending News