अपडेट 
२०७७ जेष्ठ ८, बिहीबार ०७:३९

काठमाण्डु ।कोरोना भाइरस संक्रमितहरुको संख्या बुधबार ४ सय ३४ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार थप २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि गरेपछि नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको थियोे ।

प्रदेश नम्बर १ को मुख्यमन्त्री कार्यालयले साँझ जारी गरेको विज्ञप्ति अनुसार ७ जना थपिएका हुन् ।झापामा ५ जना, धनकुट्टा र धरानमा १÷१ जना संक्रमित पुष्टि भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाए अनुसार संक्रमितहरु मध्ये पुरुष ३ सय ५८ र महिला ६९ जना छन् । बुधबार बाँके, धनकुटा, कपिलवस्तु र नवलपरासीमा कोरोना भाइरसका संक्रमितहरु रहेको पुष्टि भएको हो ।

प्रवक्ता डा. देवकोटाका अनुसार बाँकेमा थप ६ जनामा संक्रमण पुष्टि भएको छ । नरैनापुर गाउँपालिका ५ का १७, २०, २८, ३० र ४० वर्षीय पुरुष तथा खजुरा गाउँपालिका ५ का २७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यस्तै कपिलवस्तुमा थप १३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये २२, ३५ र ४८ वर्षीय पुरुष विजयनगरको क्वारेन्टाइनमा छन् ।

त्यसैगरि महाराजगञ्ज गाउँपालिकाका १० जना छन् । उनीहरु मध्ये ३ जना ३, ४ र ६ वर्षका बालिका हुन् । यस्तै १६, २५ र ३२ वर्षका महिला र १२, २०, २४ र ३४ वर्षका पुरुषमा संक्रमण देखिएको छ ।

नवलपरासी पश्चिममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाउँदै डा.देवकोटोले उनी सुस्ता गाउँपालिका ५ को बेलवानी क्वारेन्टाइनमा रहेको बताए ।

यसैगरी धनकुटामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु २८, २९, ३५ र ३७ वर्षका पुरुष र २४ वर्षकी महिला छन् ।

प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ३५ हजार ४ सय ९४ र आरडीटी विधिबाट ७५ हजार ७२ जनाको कोरोना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ४ सय ८८ र आरडीटी विधि ३ हजार ६ सय १० जनाको कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म देशभरिको क्वारेन्टाइनहरुमा २३ हजार २ सय २ जना छन् ।

कोसी अस्पतालको आइसोलेशनमा रहेकाहरु मध्ये ८ जना पुरुषको पीसीआर नतिजा नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ ।उनीहरु २९ देखि ३३ दिनदेखि अस्पतालमा रहेर डिस्चार्ज भएका छन् ।

विराटनगरस्थित कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचाररत थप ८ जना बुधबार निको भएर विदा भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसअघि त्यहा उपचार गरिएका १८ जना संक्रमति निको भएर विदा भएका थिए । पछिल्लो पटक निको भएर विदा हुनेहरु उदयपुरको भुल्केमा भेटिएका संक्रमित हुन ।

विराटनगरमा उपचारगरि विदा हुनेको संख्या २६ पुगेको छ । प्रदेश १ मा संक्रमण पुष्टि भएको संख्या ५९ पुगेको छ । योसँगै डिस्चार्ज हुनेको संख्या ४५ पुगेको छ ।त्यस मध्ये १ जना रौतहटको, १ जना पर्साको र १ जना काठमाण्डुका संक्रमित पुनः अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् ।हाल सम्म मृतकको संख्या २ छ । मृतकहरु मध्ये एकजना सुत्केरी महिला र एकजना पुरुष छन् ।

कोरोना संक्रमितहरुको संख्या दिनदिनै बढदै गएपछि पीसीआर टेस्टको गति घटेकोछ ।पीसीआर किटको अभावमा टेस्ट कतिपय जिल्लामा रोकिएको र कतिपय जिल्लामा आवश्यकता अनुसार नभएको बताइएकोछ ।

कोरोना भाइरसको संक्रमितहरुको संख्या बढने संभावना रहेकाले क्वारेन्टाइन र आइसोलेशन बेडको संख्या बढाउन थालिएकोछ ।कोरोना भाइरस संक्रमित(कोभिड–१९)को उपचारका लागि अस्थायी अस्पतालहरु बनाउन थालिएकोछ ।तर मापदण्ड अनुसार क्वारेन्टाइन सञ्चालन नभएको भन्दै क्वारेन्टाइनबाट मानिसहरु भाग्न थालेका छन् ।

हाल सम्म सर्वाधिक संक्रमितहरु प्रदेश ५ मा र त्यसपछि संक्रमितहरुको संख्या प्रदेश २ मा देखिएकोछ ।बाँकेमा आइसोलेशनमा संक्रमितहरुलाई राख्न समस्या देखिन थालेकोछ ।

Comment


Related News

Latest News

Trending News