अपडेट 
२०७७ जेष्ठ ११, आईतवार ०८:१३

अनिल तिवारी
वीरगञ्ज ।
अहिले प्रदेशको एक मात्र महानगर बन्न सौभाग्य पाएको वीरगञ्ज देशको आर्थिक नगरी मात्र होइन दाताहरुको सहर पनि हो । आजको मितिमा अर्बौ मुल्यांकन हुने धन–सम्पति मानिसहरुले लोक–कल्याणमा दान गरेका कारण यो सहर यो रुपमा छ । यहाँका शिक्षाका मन्दिरहरु, धार्मिक देवालयहरु, दर्जनको संख्यामा रहेका धर्मशालाहरु, शंकाराचार्य गेट, घण्टाघर र नारायणी रंगशाला सबै दाताहरुको हातको परमार्थ हुन् । पछिल्लो समयमा यहाँ सुरक्षानिकायका बिभिन्न इकाइका आधा दर्जन भवन पनि दाताले बनाइ दिए । र, त यो सहर केन्द्रमुखी राज्यका अनेकौं राजकीय दुराग्रहको बावजुद आज यसरी उभिन पाएको छ ।

वीरगञ्ज सहरको यस सद्चरित्रसंगै दुई प्रबृतिका मानिसहरु यहाँ देखा पर्छन । पहिलो सरहको सार्थक गुणको सद्उपयोग गर्दै स्रोत साधनलाई एकत्रित र लोककल्याणमा परिचालन गर्ने । अर्को यसैमा ठगी गर्ने र ब्यक्तिगत लाभ उठाउने । वीरगन्जका नगर प्रमुख(मेयर) वियजकुमार सरावगीलाई पहिलो श्रेणीमा गिन्ती गरेकै कारण यहाँका जनताले उनको सिरमा ताजपोसी गरे । तर मेयर भएपछि उनी पहिलो किसिममा पर्नेमा जनताको भरोसामा पछिल्लो समयमा खरो उत्रिन सकेका छैनन ।

ताजा प्रकरण

वीरगन्जको नारयाणी अस्पताल मातहत अहिले २ वटा कोरोना (कोभिड –१९)को आइसोलेसन अस्पताल संचालनमा छ । यहाँ दैनिक सय भन्दा बढी स्वाबको नमुना परीक्षण गर्न सक्ने खालको पीसीआर मेशिन चालु अवस्थामा छ । प्रदेश २ मा चालु अवस्थामा रहेको र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टसंग पुर्णतः मेल खाने रिपोर्ट दिने पीसीआर मेशिन यहाँको नारायणी अस्पतालमा रहेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार वीरगन्जमा रहेको पीसीआर मेशिनमा परीक्षण गर्नका लागि अहिले भिटिएम किटको अभाव छ । समाजिक संजालमा समेत वीरगञ्जलाई तत्कालै टड्कारो भिटिएम किटको रहेको कुरा नागरिकहरुको साझा आवाज छ ।

सहरको आवश्यक्ता र नागरिकको आवाज एकातिर मेयर सरावगीको गतिबिधी अर्कोतिर देखिएको छ । उनले जनतासंग चन्दा÷दातब्यमा पैसा उठाएर अहिले पीसीआर मेशिन किन्ने भनेर अगाडि बढेका छन् । सहर उसै पनि दानी हो, पैसा दिन्छ नै । तर पैसाको सद्उपयोग हुनेमा गम्भीर सवालहरु खडा छन् ।

यसको लागि सरावगीले सार्वजनिक अह्वान नै गरेका छन् । जब कि वीरगञ्जमा मेशिन छ, त्यो मेशिनलाई चलाएर जाँचहरु गर्गका लागि आवश्यक पर्ने किटको ब्यापक अभाव छ । फेरी मेशिन नै किन ल्याउन लागिएको भनि चिकित्सक जगत आश्र्चयमा छन् । ‘मेशिन ल्याउनु मात्र गुण होइन त्यसको लागि भिटिएम किट पनि चाहिन्छ,’ एक चिकित्सकले भने, ‘भएकै मेशिनको लागि तत्कालै पाँच दश हजार भिटिएम किन्न बरु पहल गरेको भए सार्थक हुने थियो ।

बिगतको हिसाब किताब

यसअघि पनि मेयर सरावगीले वीरगञ्ज नगरमा आह्वान गरेर पटक पटक चन्दा असुली गरेका छन् । आम्दनीको हिसाब खर्चको लेखाजोखा एक पटक पनि सार्वजनिक गरेका छैनन । नेपाली सेनाकोे वीरगञ्जस्थित इकाईको सहकार्यमा केही समय अगाडि वीरगञ्न्ज महानगरपालिकाले एउटा म्याराथन दौड आयोजना गर्दा त्यति बेलापनि सहरमा चन्दा संकलन गरिएको थियो । झण्डै एक करोड रुपैया वीरगञ्जबाट असुली भएको आँकलन गरिएको छ । त्यो रकमको आम्दनी र खर्च कहीकतै हालसम्म सार्वजनिक गरिएको छैन ।

त्यसभन्दा अगाडि यसभन्दा ठुला ठुलाचन्दा असुलीमा मेयर सरावगी कुनै हिसाबकिताब नदेखाइ अपारदर्शी देखिए । वीरगञ्ज महानगरपालिकामा बडा श्रद्धापुर्वक गायत्री महायज्ञ भयो । यसमा यज्ञको हवन कुण्ड बुकिङ्गदेखि लिएर अनेक शिर्षकमा चन्दा उठाइएको थियो । करिब ३ करोड रुपैयाँ खर्च बताएर त्यसै अनुसार पैसा उठाउने काम पनि भएको थियो । यज्ञमा चार लाख श्रद्धालुले भागलिने भने पनि एक लाख भन्दा कम नै भागलिए । उद्घाटन र समापन दुइटैमा भनिएका प्रमुख अतिथि आएनन । उद्घाटनमा प्रधानमन्त्री र समापनमा राष्ट्रपतिको आउने भनेर चन्दा उठाउन सहज भएको थियो ।

राष्ट्रपति र प्रधानमन्त्रीको नाम बेंचेर मात्र यसरी पैसा उठाएको थिएन अझ ४० देशबाट पाहुना आउने भनेर बताइएको थियो । न ४ लाख श्रद्धालु आए, न राष्ट्रपति र प्रधानमन्त्री नै आए, न त बिदेशका ती पाहुना नै देखा परे । पैसा भने भरपुर उठाइयो । आम्दनी र खर्चको हिसाब यसपाली पनि सार्वजनिक गरिएन ।

त्यसभन्दा अगाडि उनी मेयर नहुँदै पनि चन्दाको सबभन्दा बढी असुली गर्न भ्याएका थिए । योगऋषी रामदेव जी महराजको शिविर वीरगञ्जमा गराउने बेला उनले ब्यापक असुली गरे । हिसाबकिताब त्यति बेला पनि देखाएनन । आफै उद्योगी ब्यपारी भएको मान्छेले के बेइमानी गर्ला र भनेर त्यतिबेला मानिसहरुले यसलाई हल्का रुपमा लिए । तर पछि उनको प्रबृति दोह्रिएपछि मानिसहरुले पुराना कुरा पनि सम्झिन थालेका छन् । रामदेव बाबाको योग शिविर गराउन उनले वीरगञ्जका सबै सम्भावित ठाउँबाट पैसा उठाएका थिए । आम्दानी र खर्चको हिसाब गोलमाल भयो ।

फेरी ताजा प्रकरणमा कुरा गर्दा अहिले विश्व महामारीको रुपमा कोरोना फैलिएको अवस्था छ । दुर्भाग्यले नेपालमा सबभन्दा बढी यस वीरगंज सहरलाई कोरोनाको चपेटामा परेको छ । यसको रोकथाम र नियन्त्रणमा कुनै कसर बाकी नरहोस भनेर केन्द्र सरकार, प्रदेश सरकार र स्थानीयतह सरकारसंग जनताको आपेक्षा छ । केन्द्रको र प्रदेश सरकारको प्रयास आफ्नो ठाउँमा छ, स्थानीयतहको भुमिका सबभन्दा बढी अहिले मानिसले खोजेका छन् । यस महामारीलाई चन्दा असुलीको अवसर बनाउन लागिएको भनेर शंकाले यहाँ ठाउँ पाएको छ । मेयर सरावगी पहिलो किसिमको नभएर दास्रो किसिमले सहरको दाता प्रबृतिको फाइदा उठाउन लागेका होइनन भन्ने आधार भेंटिदैन ।

Comment


Related News

Latest News

Trending News