अपडेट 
२०७७ जेष्ठ १२, सोमबार ११:३५

जनकपुरधाम । प्रदेश २ को आगामी आ.ब.को बजेटबाट तालिम, गोष्ठीलाई हटाइने भएको छ ।

आगामी आ.ब.का लागि बजेट ल्याउने तयारीमा रहेको प्रदेश २ सरकारले स्वास्थ्यमा सुधार, दरबन्दी थप, उपकरण खरीदलाई पहिलो प्राथमिकतामा राख्न लागेको छ । यसबाहेक लक डाउनको समयमा विपन्नका लागि राहत र वैदेशिक रोजगारीबाट फर्केर आउनेका लागि रोजगारी दिनेलाई पनि प्राथमिकतामा राखेको छ ।

बजेट घट्ने अवस्था देखिएपछि सबैभन्दा बढी बजेट जाने भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट कटौति गरिने भएको छ । ‘अघिल्लो बर्ष भौतिक पूर्वाधारमा धेरै बजेट जान्थ्यो’ आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रेम कुमार श्रेष्ठले भने, “यसबाट नै बजेट घटाएर स्वास्थ्य पूर्वाधारमा लगानी लगाउनुपर्ने हुन्छ ।”

सचिव श्रेष्ठले साधारण चालू खर्च समेत घटाइने बताए । ‘यसबाहेक गाडी खरीद, भ्रमण, अनुगमन खर्च, अनुत्पादक किसिमको तालिम, गोष्ठी सबै कटौति गरिनेछ’ उनले भने ।

वैदेशिक रोजगारीबाट फर्केर आउनेलाई श्रममूलक, उत्पादनशील काममा लगाउने सम्बन्धमा पनि बजेट विनियोजन हुने उनले बताए । ‘जनशक्तिलाई उपयोग गर्दै सामाजिक पूँजी निर्माण गर्ने कामका लागि पनि बजेट विनियोजन हुन्छ’ उनले भने ।

कोरोना महामारीका कारण चालू आर्थिक बर्षको भन्दा आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि घटाएर बजेट बनाउने तयारी भइरहेको उनको भनाई छ ।

आन्तरिक श्रोतहरु पनि घटेको अवस्था छ र केन्द्रबाट पनि अनुदान कटौति हुने अवस्था भएकाले बजेट घटेर आउने श्रेष्ठले बताए ।

मन्त्रालयले करिब डेढ् महिना अगाडि नै चालू आ.ब. का लागि रु ४२ अर्बको बजेटको सिलिङ्ग सबै मन्त्रालयमा पठाइसकेको छ । कोरोनाको त्यत्ति प्रभाव नभएकै समयमा त्यो सिलिङ्ग पठाइएपनि अहिले लगातार लक डाउन बढ्दै गएको र कोरोना संक्रमण पनि बढ्दै गएको अवस्थामा बजेट चालू आ.ब. भन्दा घट्न सक्ने उनको भनाई छ ।

चालू आ.ब. का लागि प्रदेश सरकारले रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको छ । चालूतर्फ रु १९ अर्ब ११ करोड ९७ लाख ३८ हाजर र पुँजीगततर्फ रु १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार बजेट ल्याएपनि यस पटक यो बजेट घटेर आउने सचिव श्रेष्ठले बताए ।

बजेट कति आउँछ भन्ने सन्दर्भमा मन्त्रालयहरुसँग छलफल भइरहेको श्रेष्ठले बताए । उनले स्वास्थ्य र सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै बजेट निर्माण सम्बन्धी छलफल भइरहेको बताए ।

Comment


Related News

Latest News

Trending News