
काठमाण्डु । प्रधानमन्त्री केपी शर्मा ओलीले आव्हान गरेको सर्वदलीय बैठकमा मधेशवादी दलका नेताहरुले संविधान संशोधन गर्दा मधेस र आदिवासी जनजातिका माग पनि समेट्न सरकारलाई सुझाव दिएका छन् ।
मंगलबार साँझ भएको सर्वदलीय बैठकमा मधेशवादी दलका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा.बाबुराम भट्टराई लगायतले संविधान संशोधन गर्दा मधेस र आदिवासी जनजातिका माग पनि समेट्न सरकारलाई सुझाव दिए ।
‘यो राष्ट्रियता र भौगोलिक अखण्डताको विषय हो, यसलाई सर्वसम्मत रुपमा अगाडि बढाउनुपर्छ’ राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले भने, ‘हामी हाम्रो एक इन्च भूमि छोड्ने बाला छैनौं । र, यसका लागि हुने संशोधनमा हामी कुनै बार्गेनिङ गर्दैनौं ।’ तर संविधानमा धेरै त्रुटी भएकाले तत्कालीन कांग्रेस नेतृत्वको सरकारले अगाडि बढाएको तर दुई तिहाई नपुगेर पास हुन नसकेको संविधान संशोधन प्रस्तावलाई फेरि अगाडि बढाएर आफूहरुको मागलाई पनि समेट्न आग्रह गरेको उनले बताए ।
बालुवाटारमा भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन संसदमा दर्ता भएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गर्न दलहरुलाई आग्रह गरेका थिए ।
प्रमुख विपक्षी नेपाली कांग्रेसे केन्द्रीय कार्य समिति बैठक बस्नुपर्ने भन्दै केही समय मागेको छ ।