जनकपुरधाम । प्रदेश २ का महोत्तरी जिल्लाकी एक युवतीको उनकै श्रीमान् र सासू मिलेर हत्या गरेको माइती पक्षको आरोप रहेको छ ।
करिब दुई बर्ष अगाडी धनुषाको बटेश्वर गाउँपालिका २ निवासी अनिल कापरसँग विवाह गरिएकी संगीता कापरको हत्या गरिएको महोत्तरीको जलेश्वर नगरपालिका ९ निवासी उनका माइती पक्षले आरोप लगाएको छ ।
संगीताको बुवाले भने पटक–पटक थप दाइजो माग्दै छोरी २० बर्षीया संगीतालाई कुटपिट गर्दै यातना दिदैं आएकोमा शुक्रबार दिउसो कुटपिट गरेर करिब ६ बजे झुण्डयाएर उनको हत्या गरेको संगीताका पिता रामअयोध कापरले बताएका छन् । ‘छोरीको मुखबाट रगत बगेको छ, एउटा दाँत भाँचेको छ र शरीरको बिभिन्न ठाउँमा कुटपिट गरेको देखिएको छ’ कापरले भने, “यसअघि पनि पटक–पटक आफ्नी छोरीलाई उनका श्रीमान् र सासूले कुटपिट गर्दै आएका थिए ।”
एक मोटरसाइकल, सुनसहित झण्डै १० लाख बराबरको दाइजो दिएर आफ्नी छोरी संगीताको विवाह गरेको उनले बताए । तर, दिइएको मोटरसाइकल संगीताकी सासूले आफ्ना भतिजालाई दिएर अर्काे मोटरसाइकल किन्न आफूलाई पटक–पटक दवाव दिएको उनले बताए । ‘अर्काे मोटरसाइकल ल्याउन भन्दै पटक–पटक छोरीलाई कुट्दै घर पठाइएको रहेछ’ उनले भने, “तर पछि कुरा मिलाएर पठाएपछि हत्या नै गरेका रहेछन् ।”
संगीताको माइती पक्षका अनुसार उनलाई कुटपिट गरी झुण्डयाएर हत्या गरेका रहेछन् । मृतकको शवलाई उनीहरु आफैंले पोष्टमार्टमका लागि अस्पताल ल्याएको बताउँदै उनका पिता रामअयोधले घट्नाबारे इलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई जानकारी गराउँदा पनि कुनै चासो नलिएको बताएका छन् ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले संगीता झुण्डिएको पाइएपछि उपचारका लागि ल्याउने क्रममा गाउँकै क्लिनिकमा मृत्यु भएको खबर आफूलाई आएको बताए । उनले मृतकको पोष्टमार्टमको रिपोर्ट आएपछि यो घट्नाबारे अनुसन्धान थालिने बताए । ‘आफैं झुण्डिएको हो कि कसैले मारेको हो भन्ने रिपोर्ट आएपछि थप अनुसन्धान अगाडि बढाउँछौं’ उनले भने ।