अपडेट 
२०७७ जेष्ठ १९, सोमबार १०:५७

सप्तरी । कोरोना संक्रमणबाट जोगिन लक डाउन लगाइएको दुई महिना भन्दा बढी बितिसकेको छ । यो समयमा खान नपाएकाहरु तड्पिएका छन् । तर, त्यहीं तड्पिएका व्यक्तिसँग हुनेखाने जनप्रतिनिधीले रकम असुली गरेका छन् ।

जिल्लाको कंचनरुप नगरपालिकाका दलित विपन्नसँग राहत बितरण गर्ने नाममा हुनेखानेले २५ रुपैयाँका दरले असुली गरेको घट्ना बाहिर आएको छ । नगरपालिकाको वडा नम्बर ५ का जनप्रतिनिधी नै यो रकम असुली गर्नमा अग्रसरता देखाएका छन् ।

वडा नम्बर ५ को पथरी टोलमा शनिबार राहत पाउनेको सूची तयार गर्ने क्रममा वडा सदस्य रामफल मुखियासहितकाले प्रति परिवार २५ रुपैयाँ असुली गरिरहेको भिडियो नै सार्वजनिक भएको छ ।

दोस्रो चरणका राहत बितरण गर्न लाग्दा वडा कार्यालयले विपन्नको सूची तयार गर्ने क्रममा विपन्नसँगै रकम असुली गरेका हुन् । रकम असुलीमा संलग्न वडा सदस्य खुलेरै भन्छन्, “चिया, खाजाका लागि उक्त रकम लिएका हौं ।”

वडा कार्यलयले फारम भर्न जिम्मा दिएपनि कुनै सुविधा नदिएकाले चिया र खाजा खानका लागि यो रकम लिएको उनी बताउँछन् । ‘वडा सदस्यहरु पढेलेखेका छैनन् । अरु व्यक्तिसँग फारम भर्न लगाउनुपर्छ’ उनी भन्छन्, “अरुले सित्तैमा काम गरिदिदैनन् त्यही भएर २५ रुपैयासम्म सहयोग लिएका हौं ।”

वडा सदस्य मुखियाले २५ रुपैयाँ नहुनेसँग १० रुपैया लिएर भएपनि फारम भरिदिएको सार्वजनिक रुपमै स्वीकार गरेका छन् ।

अर्का वडा सदस्य भोलानाथ चौधरी भने यो कार्यको आफूले बिरोध गरेको बताएका छन् । जनतालाई नून र भात खान समेत पैसा नभएको अवस्थामा यसरी रकम असुली गर्नु निन्दनीय रहेको उनको भनाई छ ।

वडा अध्यक्ष कैलास साह वडा कार्यलयमा भिडभाड हुने भएकाले गाउँका केही बुद्धिजीवी र वडा सदस्य मार्फत फारम भर्न लगाइएको बताए । तर रकम लिएको बारेमा आफूलाई जानकारी नभएको बताउँदै उनले भने, “यो बिषयमा बुझ्छु ।”

सप्तरीकै हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर ४ मधवापुरमा समेत विपन्नसँग राहत दिने नाममा रकम असुली गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News