
जनकपुरधाम । जनकपुरधाममा लकडाउन खुकुलो पारिएको छ । बन्द रहेका पसलहरु शनिबार बिहानदेखि मध्यान्हसम्म खोल्ने सहमतिसगै लकडाउन खुकुलो पारिएको हो ।
शुक्रबार बिहान यहाँका व्यापारी र प्रशासनबीच भएको छलफलमा बिहानदेखि मध्यान्ह १२ बजेसम्म पसल खोल्ने मौखिक सहमति भएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।
‘खाद्यान्न, तरकारी, फलफूल, दूधसहितका अति आवश्यक पसल खुल्ला नै थियो, अन्य पसलहरु पनि लुकेर संचालन भइरहेको थियो’ निरौलाले भने, “प्रहरीलाई हेरेपछि बन्द गर्ने र गएपछि आधा सटर खोलेर पसल संचालन गर्दै आएको अवस्थामा मध्याहन्हसम्म पसलहरु खोल्न दिने सहमति भएको हो ।”
विराटनगर, बीरगंजसहित तराईका अन्य शहर पनि खोल्ने सहमति हुँदै जाँदा यहाँ पनि दवाव बढेपछि यस्तो सहमति गरिएको निरौलाले जानकारी दिए । उनले दूरी कायम गर्दै सेनिटाइजरको प्रयोग गरेर व्यवसाय संचालन गर्न दिइनेछ ।
यद्यपी बढी भीडभाड हुने सिनेमा घर, सैलुनसहितका पसल भने तत्काल खोल्न दिइने छैन् ।
बिहीबार पसल खोलिएको भन्दै दुई जना व्यापारीलाई प्रहरीले कुटपिट गरेको थियो । कुटपिट गर्ने प्रहरी भने कार्वाहीका लागि प्रदेश प्रहरी कार्यालय तानिइसकेका छन् ।