अपडेट 
२०७७ जेष्ठ २४, शनिबार ०८:१५

जनकपुरधाम । शुक्रबार प्रदेश २ सभामा आर्थिक विनियोजन उपर छलफल भएको छ । छलफलमा सहभागी भएका सांसदले कोरोना महामारीबिरुद्व लड्न र आर्थिक बर्ष २०७५÷७६ मा सम्पन्न भएका योजनाको भुक्तानीको बिषयलाई बजेटको प्राथमिकतामा राख्न माग गरेका छन् । उनीहरुले गत बर्ष सम्पन्न भएका योजना वापतको भुक्तानी हालसम्म नगरिनु दुःखद भएको बताए ।

छलफलमा सहभागी भएका सांसदले आगामी आर्थिक बर्ष २०७७÷०७८ को बजेटमा भुक्तानीको बिषयलाई प्राथमिकतामा राख्न प्रदेश सरकारसँग माग गरे ।

विपक्षीका साथै सत्ता पक्षका सांसद समेतले आगामी आर्थिक बर्ष २०७७÷०७८ को बजेटमा आर्थिक बर्ष २०७५÷७६ मा सम्पन्न गरिएका योजनाको भुक्तानीको बिषय समावेश गराउन उनीहरुले माग गरेका छन् ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले प्रस्तुत गरेको विनियोजन विधेयकको २५ नम्बर बुँदामा गत आर्थिक बर्षको भुक्तानीको बिषय राखेका छन् । तर सांसदले १, अथवा २ मा यो बिषयलाई राख्न माग गरे ।

समाजवादी पार्टीका उप नेता रामाशिष यादवले गत बर्षको भुक्तानी नभएको बिषयमा सरकार सामु ठूलो प्रश्न चिन्ह खडा भएको भन्दै उनले अब भुक्तानी दिनमा बिलम्ब गर्न नहुने बताए ।

समाजवादी पार्टीकै सांसद अशोक यादवले सबै प्रकृया पूरा भएपनि भुक्तानी नदिने कर्मचारीलाई विदाई गर्नुपर्ने बताए । उनले अबिलम्ब भुक्तानी गर्नुपर्ने बताए ।

सत्तासिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका प्रमुख सचेतक परमेश्वर साहले भुक्तानीको बिषयलाई सबैभन्दा तल राखेर सरकारले प्राथमिकतामा नराखेको छर्लङ्ग देखिएको बताए । उनले यो बिषयलाई प्राथमिकता दिनुपर्ने बताए ।

राजपाकी सांसद सुरिता कुमारी साहले भुक्तानी नभएका कारण सदन समेत एक बर्षदेखि अवरुद्व हुँदै आएकाले यसमा अब नजर अन्दाज गर्न नहुने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद शत्रुद्यन महतोले सबै प्रकृया पूरा भइसक्दा समेत भुक्तानी दिन आलटाल गर्नु ठीक नभएको बताए ।

शुक्रबारको बैठकमा बस्ने अधिकांस सांसदले भुक्तानीमै जोड् दिएका छन् । उनीहरुले कोरोनाबिरुद्व लड्ने कुरा र गत बर्ष सम्पन्न गरिएका योजनालाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

आर्थिक बर्ष २०७५÷७६ मा सम्पन्न भएका ८ सय ४२ योजनाको झण्डै ९१ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

शुक्रबारको बैठकमा बोल्दै कांग्रेसका नेता रामसरोज यादवले प्रि बजेटमा कृषिका लागि एकातिर आधुनिक मेसिन पनि ल्याउने र अर्काेतिर बेरोजगार भएका युवालाई रोजगारी पनि दिने बिषय बिरोधाभास भएको बताए । उनले आधुनिक मेसिन ल्याए युवालाई रोजगारी दिन नसकिने बताए ।

राजपाकी सांसद रानी शर्मा तिबारीले रक्सीले मर्ने व्यक्तिलाई १ लाखसम्म दिने प्रदेश सरकारले लकडाउनमा भोकै मर्न लागेका जनताका लागि केहि सोंच्न नसकेको बताइन् ।

नेकपाका सांसद रामचन्द्र मण्डलले बजेट आइरहेपनि कार्यान्वयन नभइरहेको बताए ।

समाजवादीकी सांसद करिमा बेगमले सरकारप्रतिको भरोसा कम हुँदै गएको बताइन् । उनले सीमा धेरै नागरिक अलपत्रमा परेको र धेरै जनता भोकका कारण मर्न लागेपनि सरकारको ध्यान जान नसकेको बताइन् ।

Comment


Related News