अपडेट 
२०७७ जेष्ठ २४, शनिबार १२:५५

काठमाण्डु ।समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी(राजपा)एकिकृत भएर प्रस्तावित जनता समाजवादी पार्टी निर्वाचन आयोगमा आइतवार दर्ता हुने अझै टुंगो लागेको छैन् ।

निर्वाचन आयोगले दल दर्ताका लागि आवश्यक कागजात बुझाउन दिएको ४५ दिनको समयावधी शनिवार नै समाप्त भएपनि विदा परेकाले आइतवार सम्म समय छ ।तर दुवै दलबीच शक्ति बाँडफाँडमा सहमति हुन सकेको छैन् ।

शुक्रवार दुवै दलका शीर्ष नेताहरुको छुट्टाछुट्टैे बैठक बसेपनि अडान छाड्ने सहमति भएको छैन् ।राजपा अध्यक्ष मण्डलका संयोजक समेत ४ जनाले एकिकरणलाई टुंग्याउनु पर्ने दबाब बढाएका छन् ।तर महन्थ ठाकुर र राजेन्द्र महतोले कार्यकारी अधिकार सहित अध्यक्ष लिने अडानमा कायमै रहेकाले दल दर्ताको प्रकृया अड्केको छ ।

दुवै दलका शीर्ष नेताहरुको बुधवार र विहिवार बसेको संयुक्त बैठकमा समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईलाई परिषदको अध्यक्ष दिएर ठाकुरलाई कार्यकारी अधिकार सहितको अध्यक्ष बनाउनै पर्ने महतोको अडानले सहमति हुन सकेन् ।

शनिवार दुवै दलका शीर्ष नेताहरुको बस्ने बैठकमा सहमति जुटाउन दुवै दलका शीर्ष नेताहरुको छुट्टाछुट्टै बैठक बसेको बताइएको छ ।

साँझ दुवै दलका नेताहरुबीच भएको छलफलपनि बिना निष्कर्ष टुंगिएकोछ ।‘एकिकरण प्रकृया अत्यन्त जटिल मोडमा पुगेकोछ’ बैठकका एकजना सहभागिले भने, तत्कालै टुंगिने संभावना छैन् ।बैठक बस्दै समय बित्ने उनको कथन छ ।

निर्वाचन आयोगमा दर्ताका लागि दुवै दलले केन्द्रिय समितिबाट निर्णय गरिसकेका छन् ।तर शक्तिको विभाजनमा सहमति नजुटेकाले ४४ दिन सम्मपनि दल दर्ताको प्रकृया अगाडी बढन सकेको छैन् ।

‘दुवै दलका नेताहरु सहमतिका लागि प्रयासरत छन्’समाजवादी पार्टीका महासचिव रामसहाय यादवले भने, शनिवार नै दुवै दल एकिकरण सहमति हुनेछ ।उनले निर्वाचन आयोगमा बुझाइने कागजातहरु तयार रहेकाले नेताहरुबीच सहमति हुनेवितिकै आइतवार त्यो प्रकृया टुंगिने बताए ।तर संभावना अत्यन्त कमजोर रहेको बताइन्छ ।

Comment


Related News