अपडेट 
२०७७ जेष्ठ २८, बुधबार ०८:३१

काठमाण्डु ।कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा थप ३ सय २३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ४ हजार नाघेको छ ।


कोभिड–१९ बाट मंगलवार १ जना मृत्यु भएको छ । भरतपुरस्थित अस्पतालमा उपचाररत १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलवार भएको नियमित पत्रकार सम्मेलनमा जनाइएकोछ ।
मृत्यु हुने भरतपुर महानगरपालिका–११ का ती व्यक्ति ज्वरो, निमोनिया, मधुमेह रोगबाट ग्रसित रहेका थिए । भरतपुर महानगरपालिका वडा नं. ११ कोलटाँडीका उनलाई सुगर, प्रेसर र मुटुसम्बन्धी रोग थियो । स्वास्थ्यमा समस्या भएपछि ५ दिनअघि अस्पतालमा भर्ना भएका उनलाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भएको थियो ।


उनको भरतपुर प्रयोगशालामा परीक्षणका क्रममा सङ्क्रमण देखिएको हो । उनीसँगै कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।


मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जनाए अनुसार सङ्क्रमित देखिएका पुरुष २ सय ९२ जना र महिला ३१ जना रहेका छन् । योसँगै सङ्क्रमितको संख्या ४ हजार ८५ पुगेको छ । ति मध्ये पुरुष ३ हजार ७ सय ९८ र महिला २ सय ८७ जना रहेका छन् । इलाममा संक्रमित पुष्टि भएपछि सङ्क्रमित जिल्लाको संख्या ७२ पुगेको छ ।


मन्त्रालयका अनुसार ९६ जना एकै पटक डिस्चार्ज भएका छन् । तीमध्ये ८८ पुरुष र ८ जना महिला रहेका छन् । कूल संक्रमित ४ हजार ८५ मध्ये ५ सय ८४ जना डिस्चार्ज भएका छन् । जनकपुर कोभिड अस्पतालमा धनुषाका ३० जना डिस्चार्ज भएका छन् । तीमध्ये २४ जना पुरुष र ६ जना महिला रहेका छन् ।


प्रवक्ता डा.गौतमका अनुसार सशस्त्र प्रहरीको काठमाण्डुको वलम्बुस्थित कोभिड अस्पतालबाट १ जना महिला डिस्चार्ज भएका छन् । यस्तै बाँकेको कोहलपुरस्थित आइसोलेशनबाट २२ जना पुरुष र राप्ति सोनारीबाट ७ जना पुरुष डिस्चार्ज भएका छन् । ती सबै बाँके जिल्लाको भएको मन्त्रालयले जनाएकोछ ।


मन्त्रालयकाअनुसार सबैभन्दा धेरै महोत्तरीमा ५० जना कोरोना संक्रमित थपिएका छन् । धनुषामा ४५, चितवनमा २४, रौतहटमा २१, रुपन्देहीमा २०, कञ्चनपुरमा १९, सर्लाहीमा १७ र नवलपुरमा १५ जनामा संक्रमण पुष्टि भएको छ ।


यस्तै सल्यान, नवलपरासी र सिराहामा १२÷१२, बाग्लुङमा ११, कपिलवस्तु र दार्चुला १०÷१०, बाँके ९, डडेलधुरा र सप्तरीमा ७÷७, दाङ ६, सुर्खेत ४, मोरङ ३ र जुम्ला र नुवाकोट २÷२ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको प्रवक्ता डा.गौतमले जनाए । उनले इलाम, सुनसरी, धादिङ, म्याग्दी र कैलालीमा १÷१ जनामा संक्रमण पुष्टि भएको बताए ।

Comment


Related News

Latest News

Trending News