
काठमाण्डु ।अंगीकृत नागरिकता सम्बन्धी विषयमा संसदमा दिएको अभिव्यक्तिबाट विवादित बनेकी समाजवादी पार्टीकी सांसद सरिता गिरिले संविधान संशोधन सम्बन्धी व्यक्तिगत प्रस्ताव दर्ता गरेको कारण पार्टीमा समेत विवादित बनेकी छन् ।
संविधान संशोधनका लागि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संयुक्त रुपमा संसदमा प्रस्ताव दर्ता गरेका छन् ।तर बुधवार समाजवादी पार्टीकी सांसद सरिता गिरिले व्यक्तिगत रुपमा दर्ता संविधान संशोधन प्रस्ताव दर्ता गरेकी छन् ।
लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा समेटेर निशान छाप संशोधन गर्न सरकारले पेश गरेको संविधान संशोधन विधेयक खारेज गर्न माग गर्दै गिरिले संसदमा अर्काे संशोधन प्रस्ताव दर्ता गराएकी छन् । स्रोत र प्रमाण नपुगेको भन्दै उनले प्रस्ताव खारेज गर्न माग गरेकी छन् ।
पार्टीको स्वीकृत बेगर दर्ता गरिएको संविधान संशोधन प्रस्ताव फिर्ता लिन सांसद गिरिलाई पार्टीले निर्देशन दिएको छ ।
‘सांसद गिरिले पार्टीको नीति विपरित व्यक्तिगत रुपमा संशोधन प्रस्ताव दर्ता गरेकी छन् ’ पार्टीका प्रमुख सचेतक उमाशंकर अरगडियाले भने, सांसद गिरिलाई प्रस्ताव फिर्ता लिन पत्र पठाइएकोछ ।उनलाई तत्काल संशोधन फिर्ता लिन पठाइएको पत्र उहाँले बुझिसक्नु भएको प्रमुख सचेत अरगडियाले जनाए ।गिरिले प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी उनले दिएका छन् ।
गिरिले दर्ता गरेकी प्रस्तावको तीव्र विरोध भइरहेको बेला पार्टीले उनलाई संशोधन फिर्ता लिन निर्देशन दिएकोछ ।
संविधान संशोधनसम्बन्धी विषयमा मंगलवारको संसद बैठकमा सबै दलले सैद्धान्तिक सहमति जनाइसकेका छन् ।संविधान संशोधनको प्रस्तावमा संसद सर्वसम्मत देखिएकोछ ।तर सांसद गिरिले दर्ता गरेकी प्रस्तावले संसद बाहिरको वातावरणलाई समेत तरंगित गरेकोछ ।
‘सांसद गिरिले दर्ता गरेकी संशोधन प्रस्ताव फिर्ता लिनुहुन्छ’ प्रमुख सचेत अरगडियाले भने, उहाँले प्रस्ताव फिर्ता नलिए कार्वाही गरिनेछ ।
सांसद गिरि पहिलोपटक विवादमा भने परेकी होइन् ।उनी मन्त्रीबाट समेत विवादित अभिव्यक्तिकै कारण बर्खास्त भएकी थिइन् ।खरोस्वाभावकी गिरि फरक अभिव्यक्तिको कारण बढी चर्चामा रहने गरेकी छन् ।