अपडेट 
२०७७ जेष्ठ ३०, शुक्रबार १०:३०

राकेश यादव
गौर
। कोभीड़ १९ को संकलित स्वाब परिक्षणको पीसीआर रिपोर्ट छिटो पठाउन नेपाली कांग्रेस रौतहटका निर्वाचित स्थानीय तहका प्रमुख सहितको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएका छन् ।

नेपाली कांग्रेसका जिल्ला सभापति एवं पूर्व सांसद कृष्ण प्रसाद यादवको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेसित भेट गरी रौतहटबाट परिक्षणको लागि पठाइएको स्वाबको रिपोर्टमा भइरहेको ढिलाईबारे जिज्ञासा राखेका थिए । लकडाउनका कारण किसानको मलखादको समस्या उत्पन्न भएकोले त्यसको आपूर्ति सहज गर्न ध्यानाकर्षण समेत गराएका छन् ।

कोरोना भाइरस संक्रमणको आशंकामा क्वारेंटाइनमा बसेकाहरुले समयमा पीसीआर रिपोर्ट नआउदा घर जानू पर्ने भन्दै पटक पटक विरोध गर्दै आएका छन् ।

उनीहरुलाई व्यवस्थापन गर्न स्थानीय सरकारलाई कठिनाई भैरहेकोले रिपोर्ट समयमा पठाउनको लागि संघीय सरकारलाई दबाब दिने नेपाली कांग्रेसका नेताहरुले डेलिगेशन लिएर पुगेका थिए ।

सत्तापक्षका नेताहरुले नेपाली कांग्रेसका कार्यकर्तालाई नियतबस विभेद गर्ने गरेको र स्थानीय प्रहरीले सत्ताको आड़मा गल्ती गर्नेलाई संरक्षण गरेको गुनासो गरे ।

पूर्व सांसद जीतेन्द्र यादवले प्रहरीले अनुसन्धानको बहानामा पक्षपात गर्दै आएको आरोप लगाए । नेकपाका कार्यकर्ता गल्ती गरे कारवाही नगरिने नेपाली कांग्रेसका कार्यकर्ताले केहि नगर्दा मुद्दा चलाउने प्रबृति अन्त्य हुनु पर्ने उनीहरुले बताए । नेता यादवले निष्पक्ष रुपमा सत्य तथ्यको पत्ता लगाएर अघि बढ्नु पर्ने सुझाव दिए ।

गुनासो सुने पछि प्रमुख जिल्ला अधिकारी घिमिरेले राम्रो काम गर्दा पनि प्रशंसाको साटो उल्टै गाली खानु परिरहेको बताए । कोरोना संक्रमणको क्षेत्रमा राम्रो कार्य गर्दै आएको भन्दै परिक्षणको दायरा बढाएको र संकलन गरी पठाएकोमा केंद्रीय प्रयोगशाला,गृह मंत्रालयले यस्तो गर्दै जाचै नगर्ने भने पछि दुःख लागेको टिप्पणी गरे । प्रमुख जिल्ला अधिकारी घिमिरे प्रदेशमा रौतहट अन्य जिल्लाको तुलनामा सुरक्षित रहेको दावी गरे ।

उनले किसानको लागि आवशयक रहेको मलखादको आपूर्तिको लागि सम्वन्धित निकाय सित पहल गर्ने प्रतिवद्धता समेत जनाए । घिमिरेले कुनै विभेद पूर्ण कार्य नगरी समानुपातिक ढंगले कार्य गर्दै आएको जिकिर गर्दै स्थानीय स्तरबाट सहयोग गर्नु पर्ने अपील गरे ।

राम्रो कार्य गरेर पहिचान बनाउने उदेश्य रहेको बताउँदै अहिलेको संक्रमणकालीन समयमा प्रदेश र संघीय सरकारको पर्याप्त मात्रामा सहयोग नभए पनि स्थानीय तहले सराहनीय कार्य गर्दै आएको जनाए ।

प्रहरी प्रहरी उपरीक्षक रविराज खडकाले पूर्वाग्रही भएर कसैको प्रभाव दवावमा आएर काम नगरी आफ्नो स्वविबेक र कानून बमोजिम गर्ने गरेको दावी गरे । मानव भएको नाताले कार्य गर्ने क्रममा केहि त्रुटि हुनु स्वाभाविक नै रहेकोले कमी कमजोरी भएको खंडमा सुझावको अपेक्षा राखेको बताए । मातहतका प्रहरी कार्यालयबाट केहि कमी कमजोरी भएमा समयमा राय सल्लाह सुझाव जानकारी दिए सच्याउने प्रतिवद्धता जनाए ।

टोलीमा जिल्ला समन्वव समितिका अध्यक्ष रामएकवाल राय यादव,प्रदेश सभा सदस्य प्रत्यासी रामचंद्र गिरी ,नागेन्द्र साह , परोहा नगरपालिकाका प्रमुख शेख वकील , राजपुर नगरपालिकाका मोहमद शेख सकिल , राजदेवी नगरपालिकाका प्रमुख धीरेन्द्र कुमार सिंह , बृन्दाबन नगरपालिकाका रामस्नेही राय यादव , चंद्रपुर नगरपालिकाका प्रमुख रामचंद्र चौधरी लगायतका नेताहरु सहभागी थिए ।

Comment


Related News

Latest News

Trending News