अपडेट 
२०७७ जेष्ठ ३१, शनिबार ०९:४३

मलंगवा । सर्लाही जिल्लाको पर्सा गाउँपालिकाको वडा नम्बर ३ नारायणपुरमा रहेको सशस्त्र प्रहरी बलको (बीओपी)मा शुक्रवार बिहान ९ बजे भारतबाट अबैध रुपमा प्रवेश गर्न खोज्दा भएको झडपमा एकजना भारतीय नागरिकको मृत्यु भएकोछ ।दुई जना भारतीय घाइते भएका छन् ।सशस्त्र प्रहरी बलका ३ जना प्रहरी घाइते भएका छन् ।

भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले उनीहरुलाई रोकेको थियो । त्यसक्रममा भएको झडपमा भारतीय नागरिकले सशस्त्र प्रहरीको एसएलआर बन्दुक खोसेका थिए ।प्रहरीले हतियार फिर्ता लिने क्रममा १५ राउण्ड गोली प्रहार गरेको सशस्त्र सीमा सुरक्षा बल सर्लाहीका एसपी गंगाराम श्रेष्ठले जनाए ।

प्रहरीको हतियार खोस्ने भारतको बिहार राज्यको सितामढी जिल्लाको सोनवर्सा थाना अन्तरगतको लालबन्दी घर भएका ४५ वर्षीय लगन रायलाई पक्राउ गरिएको उनले बताए ।

भारतको जानकी नगर र नेपालको नारायणपुरको बीचमा रहेको सीमा स्तम्भ ३१९÷२४ मा घटना भएको हो ।
‘प्रारम्भमा भारतबाट २०÷२५ जनाको समुह आएर संग्रामपुरस्थित बोर्डर आउट पोष्ट (बीओपी) मा विवाद गरेका थिए । उनीहरुलाई फर्काएको केहीवेरमा एक डेढ सय जनाको टोली आएपछि विवाद बढेको एसपी श्रेष्ठले बताए ।

स्थितिलाई नियन्त्रणमा लिन १५ राउण्ड हवाई फायर गर्नुपरेको सशस्त्रका एसपी श्रेष्ठले जनाए ।उनले घाइते हुनेहरुमा १ जना हवल्दार र २ जना प्रहरी जवान रहेका छन् ।बीओपीमा ९ जना प्रहरी कार्यरत रहेको उनले बताए ।

‘ भारतबाट तस्करी गर्न आएका मानिससँग सीमा क्षेत्रमा सशस्त्र प्रहरीको झडप भएको हो’ सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले भने, ‘घटनामा सशस्त्र प्रहरीका घाइते भएका ३ जनाको अवस्था समान्य छ ।’एकजना भारतीय नागरिक लगन रायलाई पक्राउ गरिएको उनले बताए ।

सर्लाहीको पर्सा गाउँपालिकाका प्रमुख किशुनदेव रायले घटनामा घाइते भएका केही व्यक्ति भारततिर भागेको बताए । बीओपीमा कार्यरत अधिकारीहरुले भने सशस्त्र प्रहरीले संयमता अपनाउँदा अपनाउँदै पनि भिड आक्रोशमा आएकाले दुर्घटना भएको बताएका छन् ।

घटनास्थल नारायणपुर तस्करीका लागि अत्यन्त सुरक्षित बाटो मानिन्छ ।तर लकडाउनको बेला सशस्त्र प्रहरीले मानिसहरुको आउजाउ रोक्न त्यहाँ बीओपी स्थापना गरेकोछ ।बीओपीको कारण तस्करी रोकिएपछि आक्रोशित बनेका तस्करहरुले आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् ।

‘बीओपीमा आक्रमण गर्नेहरु अबैध काम गर्न खोजेका थिए’ प्रमुख जिल्ला अधिकारी जीसीले भने, सीमा नाकाहरुमा तैनाथ सुरक्षाकर्मीहरुले तस्करी रोकेकै कारण उनीहरुमाथि आक्रमण भएको देखिएकोछ ।’

प्रमुख जिल्ला अधिकारी जीसीका अनुसार घटनास्थलको अवस्था अहिले समान्य छ ।त्यहाँ थप सुरक्षा बल तैनाथ गरिएको छ ।‘भारतीय समकक्षीसित घटनाबारे संवाद भइरहेकोछ’उनले भने, अवस्था समान्य छ ।

भारत सीतामढीका एसपी अनिल कुमारले जनाए अनुसार मृत्यु हुनेमा सीतामढी जिल्लाको सोनवर्सा थाना अन्तरगतको पिपरा परसाइ बस्ने नागेश्वर रायका छोरा डिकेश रायको उपचारको क्रममा मृत्यु भएकोछ ।


त्यसैगरि घटनामा घाइते भएका विनोद रामका छोरा उमेश राम र विन्देश्वर ठाकुरका छोरा उदय शर्माको उपचार सीतामढी अस्पतालमा भइरहेको उनले जनाए ।

एसपी अनिल कुमारले जानकी नगरका बासिन्दा र नेपालको सशस्त्र सीमा सुरक्षा बलबीच नेपाली भूमीमा भएको झडप र फायरिंगमा राय घाइते भएको जनाएका छन् ।रायको छातीमा गोली लागेको , शर्मा र रामको खुट्टामा गोली लागेको बताइएको छ ।

नेपाली अधिकारीहरुले आक्रमण गर्नेहरु तस्करी भएको जनाएपनि एसपी अनिल कुमारले भने उनीहरु किसान रहेको जनाएका छन् ।

घटनास्थलमा एसएसबी र सीतामढी पुलिसको संख्या बढाइएको बताउँदै अनिल कुमारले भने, घटनास्थल र वरिपरिको क्षेत्रमा निगरानी बढाइएकोछ ।

भारतीय सञ्चारकर्मी राजु सोनीका अनुसार स्थानीय बासिन्दाहरु भारतको सशस्त्र सीमा सुरक्षा बल(एसएसबी)प्रति आक्रोशित देखिएका छन् ।घटनास्थलमा उनीहरु तैनाथ रहेपनि समयमै स्थितिलाई नियन्त्रणमा लिने प्रयास नगरेको उनीहरुको आरोप छ ।

कतिपय स्थानीयहरुले पक्राउ परेका लगन राय आफ्ना बुहारी, २ जना छोरा, २ वर्षिया नातिनी सहित महोत्तरी जिल्ला सोनमा गाउँपालिकाबाट सीमामा आएकी सम्धीनीलाई भेंटन गएका थिए ।प्रहरीले महिलालाई समेत कुटपिट गरेपछि स्थानीय भारतीयहरु आक्रोशित बनेको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News