अपडेट 
२०७७ जेष्ठ ३२, आईतवार ०८:४५

काठमाण्डु ।कोरोना भाइरस संक्रमितको संख्यामा नेपालमा शनिवार थप २ सय ७३ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । मृतकको संख्या १८ पुगेको उनले बताए ।

डा. जागेश्वर गौतमले पर्साका एक पुरुष र बाराका एक बालकको कोरोनाकै कारण मृत्यु भएको शनिबार पुष्टि गरेका हुन् ।

प्रवक्ता गौतमका अनुसार पर्साको वीरगज्ज महानगरपालिकाका २५ वर्षीय पुरुषको वेवारिसे शवको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो । जेठ २८ गते शव भेटिएपछि उनको स्वाब परीक्षण नारायणी अस्पतालमा गरिएको थियो। शुक्रबार उनको स्वाबको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता गौतमले जनाए ।

त्यसैगरी बाराको निजगढ नगरपालिका–६ का एक पाँच वर्षीय बालकको समेत कोरोनाकै कारण मृत्यु भएको उनले जनाए । उच्च ज्वरोका कारण जेठ ३० गते वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना भएका बालकको स्वाब संकलन गरेर नारायणी अस्पतालमा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो ।कोरोना पोजिटिभ रिपोर्ट नआउँदै उनको निधन भइसकेको प्रवक्ता गौतमले जनाए ।

प्रवक्ता डा गौतमका अनुसार २ सय ७३ जना संंक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ ।संक्रमित मध्ये ४ हजार ९ सय ४९ जना पुरुष र ३ सय ८६ जना महिला रहेको प्रवक्ता डा.गौतमले जनाए ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ३६ जना उपचारपछि कोरोना जितेर डिस्चार्ज भएका छन् । यो समेत डिस्चार्ज हुनेको संख्या ९ सय १३ पुगेको छ। जसमध्ये पुरुष ८ सय २२ र महिला ९१ जना छन् । प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ ।

शनिबारसम्म लाख ५० हजार ५ सय ४९ जना क्वारेन्टाइनमा रहेका छन् । ४ हजार ४ सय ४ जनाको आइसोलेसनमा उपचार भइराखेको मन्त्रालयले जनाएको छ ।अहिलेसम्म १ लाख २७ हजार २ सय ८८ जनाको पीसीआर र १ लाख ९० हजार ५ सय ८२ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ ।

Comment


Related News

Latest News

Trending News