
काठमाण्डु । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्ने भएका छन् ।
ओलीले छिट्टै मन्त्रिपरिषद हेरफेरको तयारी गरेको उनीनिकट श्रोतले पुष्टि गरेको छ । यसअघि प्रधानमन्त्रीले गत चैतमै मन्त्रिपरिषद पुनर्गठनको तयारी गरेका थिए । तर, कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण ओलीको उक्त योजना पछि धकेलिएको थियो ।

आफ्नो पाँच वर्षे कार्यकालको आधा समय सकिएकाले अर्को आधा समयमा प्रधानमन्त्री ओलीले नयाँ टिमसँग काम गर्न चाहेको बालुवाटार श्रोतले भनाइ छ । ‘आधा कार्यकाल एउटा टिमसँग काम गर्नुभयो, अर्को आधा कार्यकाल फरक टिमसँग काम गर्ने इच्छा उहाँ (प्रधानमन्त्री) को छ’, श्रोतले भन्यो, ‘छिट्टै नयाँ खबर पाउनुहुनेछ ।’
सबै मन्त्री हटाएर नयाँलाई अवसर दिने कि आफू अनुकुलका केहीलाई निरन्तरता दिएर बाँकीलाई हटाउने भन्नेमा ओलीले निकटस्थहरुसँग परामर्श गरिरहेका छन् ।