किशोर नेपाल
प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीलाई एक नम्बरका फटाहा नेता हुनभन्दा सजाय भोग्नु पर्दछ भने त्यसका लागि यो स्तम्भकार तयार छ । प्रधानमन्त्री ओलीले संसदलाई ढाँटने गरेका छन । राजनीतिमा लागेका मानिसको चरित्र बुझनु छ भने उसको बडी ल्यांग्वेज (शारीरिक भाषा) बुझनु आबश्यक हुन्छ । प्रधानमन्त्री ओली प्रतिनिधि सभा वा राष्ट्रिय सभाको बैठकमा बोल्नलाग्दा पहिले नाकमा हात पुर्याउँछन, नाक कोट्याउँछन वा सुम्सुम्याउँछन । बडी ल्यांग्वेजको अर्थ अनुसार फटाहा बोल्ने मानिसको आदत हो यो । प्रधानमन्त्री ओलीको राजनीति यस्तै कामबाट अघि बढेकोछ । उनमा संसदीय राजनीतिले मांगगर्ने विचार कौशल र गम्भीरता छैन । कम्युनिष्ट भएका नाताले होइन, देशमा अहिलेसम्म चल्दै आएको सामन्तवादी चरित्रको शासन ब्यबस्थाले, उनको चरित्रको निर्माण गरेकोछ । उनका लागि प्रधानमन्त्री हुनु भनेको नेपालका पहिलो महा–सामन्त अंशुबर्माको उत्तराधिकार सुमर्न पाएजस्तै हो । अंशुबर्मा लिच्छबीकालका शासक थिए । इतिहासमा यसै भनिएकोछ ।
प्रधानमन्त्री ओलीलाई संसदमा कुन सांसदले के भन्यो ? त्यसको खासै मतलब रहँदैन । उनका लागि संसद भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो मात्रै हो । उनका नीति र त्यस अन्तर्गत चालेका कदमका बिरुध्द प्रदीप गिरि, मीनेन्द्र रिजाल, गगन थापा, राजेन्द्र महतो, प्रदीप यादब, राधेश्याम अधिकारी, डीला संग्रैला, प्रकाश रसाइली, झपट रावल, गजेन्द्र महत जस्ता दर्जनौं सांसदहरुले सत्य र इमानका पक्षमा आवाज उठाएका छन । प्रदीप गिरिले दोस्रो बिश्वयुध्दका समयमा प्रधानमन्त्री च्याम्बरलिनको अकर्मण्यताका बिरुध्द बेलायती संसदमा गुन्जिएको एमरी र चर्चिलको आवाज “इनफ इज इनफ” को उदाहरण दिएका छन । शक्ति र सत्ताको मातमा चुर्लुम्म डुबेका प्रधानमन्त्री ओलीले इतिहासका ती घटनाको अर्थ बुझेका छैनन अथवा बुझन चाहेका छैनन । गगन थापाले बिस्तारमा कोरोना नियन्त्रणमा सरकारका बिफलताको बडो बुलन्द आवाजमा चर्चा गरेका छन । प्रधानमन्त्री ओलीका आफनै पार्टी नेपाल कम्युनिष्ट पार्टीका सांसद भीम रावलको आवाजले पनि उनलाई झस्काउन सकेको छैन । शिथिल र सक्रिय दुबैथरि सांसदले, स्पष्ट शब्दमा, प्रधानमन्त्रीलाई पटक पटक सचेत गराएका छन । तर, शक्ति र सत्ताको रवाफमा चुर्लुम्म डुबेका प्रधानमन्त्रीलाई देशमा आपूm बाहेक अरु कोही जानकार नै नभएको भूmठो अभिमानले थिचेकोछ ।
कोरोना महामारीको यो समयमा नेपाल सरकारका कार्यकारी प्रमुखका हैसियतले उनले वा उनका मन्त्री र कर्मचारीले गरेका निर्णयहरु बदनियतपूर्ण देखिएका छन । संचार माध्यमहरुले दिनहूँ वर्तमान सरकारका कर्तुतहरुको भण्डाफोर गरी रहेका छन । देशका जान्नेसुन्नेहरुको भनाई छ – भ्रष्टाचारको स्वरुप भयावह मात्र देखिएको छैन, देशको भबिष्य नै संकटमा परेकोछ । सरकार भ्रष्टाचारको फोहरी खेलमा रमाएकोछ । तथ्यपरक र बिस्फोटक समाचारका खात लागेका छन । तिनलाई सरकारले जसरी पचाउने गरेकोछ त्यो आफैमा आश्चर्यजनक छ । जनता अन्तर्राष्ट्रिय महामारीसंग सन्त्रस्त रहेका समयमा प्रधानमन्त्री ओलीले संसदलाई ठट्टागर्ने थलोको रुपमा प्रयोग गरेका छन । उनका कथित उद्गार सुनेर मानिसको मन भरंग भएकोछ ।
कोरोनाले देशको मूल जरोको रुपमा रहेका जनतालाई प्रभावित गरि सकेकोछ । प्रधानमन्त्री ओली नाक सुम्सुम्याउँदै भन्दछन, भारतबाट संक्रमितको ओइरो लागेकोले मात्रै संक्रमितको संख्या बढेको हो । उनलाई थाह छैन, रोजगारीको खोजीमा लाखौंलाख नेपाली भारतमा छरिएर बसेका छन । उनीहरु त्यतिकै भारत गएका होइन होलान । प्रधानमन्त्री ओलीले गफ हान्न छाडेर देशभित्रै तिनको रोजगारीको ब्यबस्था गरे तिनको जीवनमा पनि हरियाली छाउँथ्यो होला । अर्कोतिर, नेपालीहरुको त्यत्तिकै लामो लश्कर तेस्रो देशहरुमा रहेकोछ । ती देश आउन खोज्दैछन । सरकार अनेको बहाना बनाएर, अनेकौं बितण्डा मच्चाएर नेपालीलाई आफनो देश आउन निरुत्साहित गरी रहेकोछ । बैदेशिक रोजगारीमा जाने नेपालीले कमाइदिएको पैसाले देश चलाएको डींग हाँक्ने बर्तमान सरकारमा परिस्थितिको मूल्यांकनगर्ने क्षमता नै छैन । ती नेपाली देश आउन पाएनन भने के होला ? यो बिषम अवस्थाको परिकल्पना अहिले नै नगरी हालौं । यसको अर्थ धेरै गहिरोछ ।
जसको नेतृत्वमा सिंगो देश भ्रष्टाचारमा आकण्ठ डुबेकोछ, त्यो ब्यक्ति देशको मामिलामा कति संवेदनशील हुनसक्छ ? यो कल्पनातीत कुरा हो । प्रधानमन्त्री ओलीको आदत नै अमानवीय छ । उनी जनताको मनमा कुतकुती लगाएर जिस्क्याउँछन । उनी जनतालाई केही दिन सक्दैनन । आत्मघाती सपना बाँडदछन । पेकिङ्गबाट कुनै दिन चुच्चे रेल काठमाडौ आउला । पोखरा र लुम्बिनी जाला । धन हुनेले रेल भ्रमणको स्वाद लेलान । यो त छँदैछ । अहिलेका लागि प्रधानमन्त्री ओलीले देशका खाद्यान्न अभाव भएका स्थानमा अन्नपात बितरण गरेर आफनो पुरुषार्थ सावित गरुन । नेपाली जनता कृतज्ञ हुनेछन । दुइ ठूला देशका बीचको धरापमा रहेको देशका जनता एक्काइसौं शताब्दीमा पनि सामान्य जीवन बिताउनका लागि आधारभूत आबश्यकताको खोजीमा रहेका छन । सरकार तिनैलाई जिस्क्याएर रमाउँछ । कति परपीडक सामन्ती प्रबृत्ति !
पाँचबर्ष अघि २०७२ सालको पहिलो महिनामा गएको भुईंचालोले मध्य नेपालमा जन–जीवन ध्वस्त बनाएको थियो । भुईंचालोले जनताको मनमा बनाएको त्यो घाउ अहिलेसम्म पुरिएको छैन । फेरि, अहिले २०७७ सालमा, कोरोना महामारीले पहिलो पटक देशमा भोकमरी निम्त्याएकोछ । कोरोना प्रकोप फैलिएको महिना दिन नबित्दै पहाड र मधेश दुबैतिरका सीमान्तकृत बर्गका जनताको चुल्होमा आगो बल्न छोडेको थियो । सांसदहरुले साहू–महाजन गुहारेर जे जति राहत जुटाउन सके त्यो बितरण भयो । तर, स्थानीय सरकारहरुले आपूmलाई चुन्ने जनताको हितमा काम गरेको देखिएन । धेरै जिल्लामा राहत पनि पार्टीगत हिसाबले बितरण भयो । स्थानीय प्रतिनिधिहरु भ्रष्टाचारमा लिप्त भए । राहतको पैसा राहतमा खर्च भएन । सरकार चलाउने नेपाल कम्युनिष्ट पार्टीले आफनो हातको डाडुपन्यौ आफैसम्म सीमित राखेका उदाहरण धेरै देखियो । प्रतिपक्षीहरुले राम्रै गरे कि उनीहरुले पनि आफनो आत्माको चित्कार सुनेनन ? यसै भन्न सकिदैन ।
नेपाल कम्युनिष्ट पार्टीले दुइतिहाइको सरकार बनाएकोछ । यो सरकारको छहारीमा रहेका ककसले राष्ट्रिय ढुकुटीमा हात फेर्न पाएका छन ? त्यसको बिबरण संचार माध्यममा थोरै आउला । तर, त्यसका सक्कली फिहिरिस्त काठमाडौं शहरका गल्ली गल्लीमा पाइन्छन । देश सानो छ । कसले भ्रष्टाचार गर्यो ? यो देशमा भ्रष्टाचार गरेर धन कमाउने अवसर पाउनेहरु थोरै छन । यो सत्य हो । कुन साहूले के का लागि कति रकममा लाइसेन्स पायो ? त्यो सूचना सरकारको सम्बन्धित अंगसंग पनि हुँदैन । देशमा सरकारको महिमा र महत्व अचानक बढेको छ । भगवान पशुपतिनाथको भन्दा बढी । त्यसैले यहाँ जसले जे पनि गर्न सक्दछ ।
प्रधानमन्त्री ओलीले हालैमात्र राष्ट्रवादको मसान जगाएका छन । उनले सुदूर पश्चिममा रहेको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुराको स्वामित्व सुगौली सन्धीदेखि नै नेपालमा रहेकोले त्यसलाई आफनो नक्सामा मिलाएका छन । भारतका रक्षामन्त्री राजनाथ सिंहले कालापानी क्षेत्र हुँदै मानसरोवरजाने बाटो खोलेपछिको प्रतिक्रिया थियो यो । नेपालको “नव निर्मित” नक्सालाई संसदले पास गरी सकेकोछ । अब त्यो नक्सा प्रधानमन्त्री ओलीकै पुस्ताका नेपालीको पालामा कार्यान्वयन हुन्छ कि त्यतिका लागि तेस्रो बिश्व युध्द नै हुनुपर्नेछ ? यो कुरा समयले बताउनेछ । हो, संसारकै लागि समय बहुतै बलवान छ । कोरोना महामारीले फैलाएको संत्राशबाट सोझा जनताको ध्यान अन्यत्र मोडन यो “नव निर्मित” नक्सा कति प्रभावकारी हुनेछ ? त्यो भन्न सकिदैन । प्रधानमन्त्री ओलीको कूटनीतिको “कूट” अर्थ कालापानी क्षेत्र नेपालमा फिर्ता ल्याउनु होइन । राष्ट्रवादको उन्माद फैलाएर पार्टीमा र देशमा आफनो बर्चस्व कायमराख्नु नै उनको उद्देश्य हो । यतिबेला प्रधानमन्त्री ओलीका नेकपाभित्रका बिरोधी, प्रचण्डपथगामी, नेपाली कांग्रेस र मधेशवादी दल सबै “नव निर्मित” नक्साको जालमा फँसेका छन । राष्ट्रवादको मोहनी नामको परिबन्दमा फँसेकाछन नेपाली जनता ।
दशैंसम्म कोरोनाले नेपाली भूमि ढपक्क ढाक्ने प्रक्षेपण गरी रहेका छन बिज्ञ चिकित्सक र बिशेषज्ञहरु । प्रधानमन्त्री ओली जानी जानी देशलाई बिनासको खाल्डोतिर धकेली रहेका छन । तै पनि, देशको कुनैपनि बर्गमा आबश्यक चिन्ता र चटारो देखिएको छैन । संसद सदस्यहरु बँधुवा मजदूर जस्ता छन । पार्टी अध्यक्षलाई सांसद पदको मूल्य चुकाएर जो आएका छन तिनलाई देशको मतलव छैन । जो टिकट पाएर निर्वाचित भएका छन तिनलाई आफनो निर्वाचन क्षेत्र बाहिर चियाउने फुर्सद नै छैन । यो परिस्थितिमा प्रधानमन्त्री ओलीलाई कसले चुनौति दिने ? किन चुनौति दिने ? यस्तोमा प्रधानमन्त्री ओलीलाई देशको के मतलव ? ः “आमा मरी हाल्छिन, म पोइल गै हाल्छु ।”