जनकपुरधाम । प्रदेश २ सरकारले हालै सार्वजनिक गरेको बजेटमा स्वास्थ्य र सामाजिक सुरक्षा सँगसँगै अनुत्पादक शिर्षकमा समेत बढी विनियोजन गरेको पाइएको छ ।
प्रदेश २ सरकारको आगामी आर्थिक बर्षको बजेटमा मनोरंजनात्मक स्थल बनाउनेदेखि बोका खरीद गर्नेसम्मका लागि विनियोजन गरेको छ ।
चुरे क्षेत्रमा जलाशय निर्माण गरी मनोरंजनात्मक स्थलको डिजाइन र निर्माणको लागि रु ३ करोड छुट्टयाएको प्रदेश सरकारले उन्नत नश्लका बोयर बोका खरीद तथा बितरणका लागि २ करोड विनियोजन गरेको छ ।
गत बर्ष शहीद परिवारलाई भैंसी खरीद गरी बितरण गर्दा सत्तासिन पार्टीका कार्यकर्ताले पनि पाउँदा आलोचनाको शिकार भएका सरकार यस पटक भने बोका बितरण गर्ने भएका हुन् ।
आगामी आर्थिक बर्ष प्रत्येक जिल्लामा उच्च प्रविधीको नर्सरीसहित नीजि नर्सरी स्थापना गर्न रु २ करोड ७५ लाख, प्रदेशमा नीजि वनको विकास गर्न रु २ करोड र एकीकृत कृषि वन प्रणालीको कार्यक्रमका लागि समेत २ करोड छुट्टयाएको छ । यो बजेट पनि कार्यकर्ता पाल्नकै निम्ति छुट्टयाएको जानकारहरु बताउँछन् ।
जनचेतना जगाउने शिर्षकमा पनि बजेट विनियोजन गरिएको छ । कुपोषण न्यूनिकरणका लागि जनचेतना अभिबृद्वि गर्न २ करोड बजेट छुट्टयाएको प्रदेश सरकारले छात्राहरुको आत्मरक्षा तालिमको लागि रु १ करोड ५० लाख, महिला स्वरोजगारका लागि क्षमता अभिबृद्वि गर्न ७५ लाख, प्रदेशको भाषा, कला तथा संस्कृतिकोसंरक्षण, उत्थान तथा विकासको लागि एक प्रतिष्ठानको गठन गर्ने र सोको अन्तर्गत एक संग्रहालय संचालन सम्बन्धमा अध्ययन गराउन रु २५ लाख बजेट विनियोजन गरेको छ ।
विपद जोखिम न्यूनिकरणका लागि प्रदेश सरकारले रु ५ करोड ८० लाख बजेट विनियोजन गरेको छ भने आपतकालिन बाढी पहिरो पुर्नस्थापना कार्यक्रम र अति जोखिम स्थानहरुमा बाढी नियन्त्रण कार्यका लागि रु ३ करोड ७५ लाख विनियोजन गरेको छ ।
हरक्षण विपद् झेलिरहने प्रदेशले दुबै शिर्षक मिलाएर जोड्दा रु ९ करोड ५५ लाख बजेट छुट्टयाएको छ । तर, यहीं सरकारले पोखरी सौन्दर्यीकरणको नाममा रु ५३ करोड ४० लाख छुट्टयाएको छ ।
मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत पोखरीहरुको सफाई, मर्मत सुधार लगायत सौन्दर्यीकरण गर्ने कार्यक्रमलाई आगामी बर्ष समेत निरन्तरता दिई रु ५३ करोड ४० लाख बजेट विनियोजन गरिएको गत असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले प्रस्तुत गरेको बजेट बक्तव्यमा उल्लेख छ ।
सौन्दर्यीकरण शिर्षकमा यस पटक छ्ुट्टयाएको बजेट चालू आ.ब. भन्दा बढी हो । चालू आ.ब.मा भने रु. ३१ करोड ३३ लाख विनियोजन गरिएको थियो ।
कोरोना महामारीको समयमा अनुत्पादक बजेट कटौति गर्ने जनाउँदै आएको प्रदेश सरकारले आफ्नो बजेट बक्तब्यमै पनि उत्पादनशील पूँजीगत खर्चलाई प्रोत्साहित गर्ने भनेपनि यसतर्फ ध्यान दिएकको पाइएको छैन् ।
प्रदेश सरकारले सम्म्भाव्यता अध्ययनकै नाममा पनि बिभिन्न शिर्षकमा बजेट छुट्टयाएको पाइएको छ । प्रदेशभित्र सप्तरीदेखि पर्सासम्मको मधेशी शहीद राजमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्न रु ३ करोड विनियोजन गरेको छ । तर यथावत रहेको पूर्व पश्चिम राजमार्गकै सडकलाई मधेशी शहीद नामांकरण गर्ने कि के गर्ने ? भन्ने सन्दर्भमा सरकारले केहि सार्वजनिक गरेको छैन् । कांग्रेस सांसद शिबचन्द्र चौधरी भन्छन्, “कुन सडकलाई मधेशी शहीद घोषणा गरिन्छ, त्यो कुरा प्रदेश सरकारले हालसम्म सार्वजनिक गरेको छैन् ।”
प्रदेशको सबैभन्दा होचो भाग धनुषाको मुसहर्नियाँ मुखियापट्टी गाउँपालिकामा पर्यटन प्रवद्र्धनका लागि सम्भाव्यता अध्ययन गर्न रु ५ लाख बजेट विनियोजन गरेको छ ।