अपडेट 
२०७७ असार ७, आईतवार ०९:३२

काठमाण्डु ।नेपालमा बिबाह गर्ने वैदेशिक महिलाले अब बैबाहिक अंगीकृत नागरिकता पाउन ७ वर्ष कुर्ने कानुन संसदबाट पास हुने भएकोछ ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधिन नागरिकता सम्बन्धी विधेयकमा विदेशी बुहारीलाई अंगीकृत नागरिकता ७ वर्षपछि दिने राखिएको प्रावधानलाई नै कायम राखी पारित गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिवार बसेको सचिवालय बैठकले निर्णय गरेकोछ ।

सचिवालय बैठकले विचाराधिन विधेयकमा बैबाहिक विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने निर्णयको पक्षमा लागेर पारित गराउने निर्णय गरेको एकजना सदस्यले जनाए ।
‘ नेपाली पुरूषसँग बिहे गरेर निरन्तर बसोबास गरेको ७ वर्षपछि मात्र अंगीकृत नागरिकता पाउने व्यवस्था गर्ने प्रावधानको पक्षमा सहमति जुटेकोछ ’सचिवालय सदस्यले भने, सचिवालयमा भएको छलफलमा विचाराधिन विधेयकलाई नै पारित गराउने निर्णय लिएकोछ ।

तर नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई अंगीकृत नागरिकता दिनुपर्नेे माग अस्वीकृत भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाए । नेकपाका महिला सांसदहरुले विदेशी महिलाको भन्दा केहि समय थप गरेर भएपनि नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई पनि नागरिकता दिने प्रावधान राखेरपनि नागरिकता दिनुपर्ने प्रस्तावलाई बैठकले अस्वीकृत गरेको उनले बताए ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी(राजपा) नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई तत्काल नागरिकता दिने हाल कायम रहेको प्रावधानलाई नै निरन्तरता दिनुपर्ने पक्षमा छन् ।प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस यस सम्बन्धमा विभाजित देखिएका छन् ।

गत बुधवार समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापाले विधेयकमा राजनीतिक सहमति जुटाउन ५ दिनको समय लिएका थिए ।प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरुसित गरेको छलफलमा ७ वर्षको व्यवस्था सम्बन्धी बुंदामा सहमति नजुटेपछि नेकपा सचिवालयको बैठकले बहुमतबाट भएपनि निर्णयगरि अघि बढने सहमति गरेकोछ ।

नेपालमा भारतबाट नै बुहारीको रुपमा अधिकांश महिलाहरु आउने गरेका छन् ।केहि जातिहरुका लागि भारतमा बिहा गर्नु बाध्यता नै रहेकोछ ।नेपालले हालै संविधानमा नयाँ नक्सा समावेशगरि सार्वजनिक गरेपछि भारतको प्रतिकृया अनुकुल छैन् ।

Comment


Related News

Latest News

Trending News