
जनकपुरधाम ।विदेशी महिला नेपालमा बुहारी बनेर आउँदा नागरिकताका लागि निरन्तर ७ वर्ष बसोबास गर्नुपर्ने प्रावधानको तराईमा व्यापक बिरोध हुन थालेकोछ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को बहुमतले आइतवार राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको नागरिकता विधेयकको विरोधमा मानिसहरु सडकमा उत्रेका छन् ।
विधेयकको विरोधमा जनता समाजवादी पार्टी(जसपा)का नेता कार्यकर्ताहरुले प्रदेश २ भरी प्रदर्शन गरेका छन् ।प्रदेशको अस्थायी राजधानी जनकपुरधामको जनक चोकमा जसपाका महिला नेतृ, युवा र नेताहरुले संयुक्त रुपमा बिरोध प्रदर्शनगर्दै बैबाहिक नागरिकता सम्बन्धी हाल कायम रहेकै प्रावधानलाई निरन्तरता दिनुपर्ने माग गरे ।उनीहरुले सत्तारुढ दल नेकपाको समेत बिरोध गरे ।
यसैगरि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका विद्यार्थी, युवाहरुले समेत प्रदर्शन गरेका छन् ।काँग्रेसको पार्टी कार्यालयबाट नेपाल विद्यार्थी संघको अगुवाईमा आइतवार दिउँसो निस्केको जुलुस नगर परिक्रमागर्दै अंगीकृत नागरिकता सम्बन्धी प्रावधानलाई खारेज नगर्न माग गरे ।
राजनीतिक सहमतिबाट बनाइएको नागरिकता सम्बन्धी ऐनमा विदेशी महिला नेपालमा बुहारी बनेर आउँदा तत्कालै सम्बन्धीत देशको नागरिकता परित्याग गरेको कार्वाही चलाए बैबाहिक अंगीकृत नागरिकता पाउने प्रावधानछ ।तर समितिले संशोधन गरेको विधेयकमा त्यसलाई अब ७ वर्ष निरन्तर बसोबास गरे मात्र अंगीकृत नागरिकता पाउने प्रावधान राखिएकोछ ।
प्रदेश २ को बीरगञ्ज, कलैया, गौर, मलंगवा, जलेश्वर, सिरहा, लहान, राजविराज लगायतका सहरहरुमा विभिन्न प्रकारले काँग्रेस र जसपाले छुट्टाछुट्टै बिरोध गरेका छन् ।बिरोध कार्यक्रममा ठूला नेताहरुको सहभागिता नरहेपनि युवा, महिलाहरुले उत्साहपूर्वक सहभागिता जनाए ।
उनीहरुले रामायणकालदेखि रहँदै आएको दुई देशबीचको सम्बन्धलाइ नेकपाले भत्काउन लागेको आरोप लगाए ।
बैबाहिक अंगीकृत नागरिकतामा गरिएको संशोधनको सत्तारुढ नेकपा स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री मातृका प्रसाद यादवले पनि बिरोध गरेका छन् ।
नेपाल र भारतबीच रोटी–बेटीको सम्बन्ध रहेको र सोही कारणले सीमानामा बस्ने नेपालीहरुले भारतीयसँग वैवाहिक सम्बन्ध गाँस्ने गरेको उल्लेखगर्दै यादवले भने, ७ वर्षे प्रावधानले ७ वर्षसम्म राज्यबिहिन बनाउँदै आर्थिक,राजनीतिक,साँस्कृतिक शोषण तथा मानसिक प्रताडना हुनेछ ।