अपडेट 
२०७७ असार १२, शुक्रबार ०९:१७

सप्तरी । सप्तरीको दुई स्थानीय तहका वडा कार्यालयमा तालाबन्दी गरिएको छ । जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका र तिरहुत गाउँपालिकाको एक÷एक वडामा तालाबन्दी गर्दा कामकाज प्रभावित भएको छ ।

हनुमाननगर कंकालनी नगरपालिका १ भारदहको कार्यालयमा स्थानीय कोशी जनहित समाज युवा क्लवका युवाले बिहीबार तालाबन्दी गरेका छन् ।

वडा कार्यालयको गतिविधी सम्बन्धी सूचना माग्दै पछिल्लो एक साता यता आन्दोलन गर्दै आएपनि नदिंदा बाध्य भएर आन्दोलनमा उत्रनुपरेको क्लवका अध्यक्ष सुरेन्द्र मण्डलले बताए । उनले प्रदर्शन, धर्नादेखि वडा कार्यालय घेराउसम्म गर्दा पनि सूचना नदिएकाले बाध्य भएर ताला लगाइएको बताए ।

सप्तरीकै तिरहुत गाउँपालिका वडा नम्बर २ मा वडा सदस्यहरुले नै तालाबन्दी गरेका छन् । वडा अध्यक्ष जय प्रकाश यादवले नियम विपरीत काम गरेको, कृषि , स्वास्थ्य , शिक्षा लगायत सम्पूर्ण काममा विगत तीन वर्ष देखि नै स्थानिय सरकार सेवा ऐन २०७४ लाई मिचेर स्वेच्छाचारी, एकलौटि एवम् मनोमानी तरीकाले मापदण्ड बिपरित काम गरेको भन्दै सदस्यहरुले ताला लगाएका हुन् ।

वडा सदस्यहरु राजेन्द्र प्रसाद मरिक यादव, सतिस कुमार मिश्र, सकुन्ती देवी साह र इन्द्र कुमारी खंग लगायत स्थानीयले वडा कार्यालयमा ताला लगाएका हुन् ।

उनीहरुले चालू आर्थिक वर्ष १ करोड ७७ लाख ६५ हजार ६ सय १४ रुपैयाँ वडा सदस्यहरु र जनताको आँखामा छारो हानेर खर्च गरिएकाले हिसाबकिताब जनता समक्ष सार्वजनिक गर्नुपर्ने, २०७४–७५ देखि हालसम्म कुन निकायबाट वडामा उपलब्ध र खर्च भएको सार्वजनिकिकरण गर्नुपर्ने माग राखेका छन् ।

Comment


Related News