अपडेट 
२०७७ असार १२, शुक्रबार ०९:२८

जनकपुरधाम । छटपटिएर आइसोलेसनमै ज्यान गुमाउने धनुषाको हंसपुरका राजु सदा घट्नाको प्रदेश २ सरकारले छानबिन गर्ने भएको छ । यसका निम्ति तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र शाहको संयोजकत्वमा गठन गरिएको छानबिन समितिमा अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा. नवलकिशोर झा र मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका कानुन उपसचिव दिलिप कुमार प्रधान सदस्य छन् ।

सामाजिक विकास मन्त्रालयले बिहीबार प्रेस बिज्ञप्ती जारी गर्दै १६ बर्षीय राजु सदाको मृत्यु घट्ना छानबिनका लागि समिति गठन गरिएको जनाएको छ ।

राजुको उपचारको क्रममा भए गरेका प्रयास एवं घट्नासँग सम्बन्धित विविध बिषयका साथै दुःखद मृत्युको कारणका सम्बन्धमा सत्य तथ्य पत्ता लगाई समग्र उपचार व्यवस्थापन एवं सेवा प्रवाहको बारेमा अध्ययन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न समितिलाई जिम्मेबारी दिइएको मन्त्रालयका डा. सुचिकुमार शर्माले जारी गरेको बिज्ञप्तीमा जनाइएको छ ।

छानबिन टोलीले उपचारमा संलग्न चिकित्सकको टोलीले दिएको मेडिकल अडिट प्रतिवेदनका साथै अन्य सान्दर्भिक तथ्य, तथ्यांक र सूचना र सोको श्रोत समेत गहन अध्ययन विश्लेषण गरी आफ्नो प्रतिवेदन पेश गर्ने बिज्ञप्तीमा बताइएको छ ।

छानबिनका क्रममा किशोरको उपचार व्यवस्थापन वा सेवा प्रवाहमा कहिं कतैबाट उल्लेख्य कमी कमजोरी वा लापर्वाही भएको पाइएमा जिम्मेबार व्यक्तिलाई कानुन बमोजिम कार्वाही गरिने बिज्ञप्तीमा जनाइएको छ ।

छानबिन प्रकृया शुरु भइसकेकाले यो प्रकृया सम्पन्न नभएसम्म धैर्यधारण गरिदिन र आ आफ्ेनो तर्फबाट सहयोग गरिदिन मन्त्रालयउल सबैसँग अनुरोध गरेको छ ।

गत जेठ ३ गते भारतको अहमदावादबाट आएका हंसपुर नगरपालिकाका राजुलाई गाउँकै क्वारेन्टिनमै राखिएको थियो । १७ दिनसम्म क्वारेन्टिनमै बसेपछि उनलाई झाडापखाला लाग्दा टिपरमा बसाएर प्रादेशिक अस्पतालको गेटसम्म ल्याइएको थियो ।

यसअघि आरडिटी टेस्टले पोजेटिभ देखिएका राजुलाई आइसोलेसनमा राखेर स्वाब संकलन गरिएको थियो । तर, स्वाबको रिपोर्ट आउन एक साता समय लागेको थियो । त्यहीं बीचमा आइसोलेसनमा छटपटिएका थिए उनी । गत सोमबार स्वाबको रिपोर्ट नेगेटिभ आएपछि उनलाई आकस्मिक कक्षमा ल्याइएको थियो । जहाँ उनको सोमबारै राति छटपटिएर ज्यान गएको छ ।

Comment


Related News

Latest News

Trending News