अपडेट 
२०७७ असार १२, शुक्रबार ०९:३६

काठमाण्डु ।कोरोना भाइरसको संक्रमणबाट विहिबार थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकोछ ।

पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा एक जना र ललितपुरस्थित पाटन अस्पतालमा एक जनागरि दुई जना कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाए ।

पाटन अस्पतालमा चितवन स्थायी ठेगाना भई ललितपुरको महालक्ष्मीस्थान–५ मा बसोबास गर्ने पुरुषको निधन भएको उनले बताए । उहाँको पाँच महिना अघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण गरिएका उहाँको स्वास्थ्यमा समस्या आएपछि शुरुमा भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा लगिएको थियो । त्यसपछि उहाँलाई भेन्टिलेटरको स्पोर्ट चाहिने भएपछि नर्भिक अस्पताल ल्याएको थियो । नर्भिक अस्पतालले आइसोलेशनमा राखी कोरोना जाँच गर्दा पोजेटिभ देखिएपछि पाटन अस्पतालमा रेफर गरिएको थियो । उपचारका क्रममा उहाँको विहिबार बिहान ५ बजे मृत्यु भएको प्रवक्ता प्रवक्ता डा गौतमले जनाए ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सघन उपचार कक्ष (आईसीयु) मा भर्ना हुनुभएका स्याङजा जिल्ला आँधीखोला–१ का पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । उपचारका क्रममा गएराति साढे ११ बजे उहाँको मृत्यु भएको थियो । मधुमेह र श्वास फेर्न समस्या भएपछि उहाँलाई यही असार ८ गते अस्पताल भर्ना गरिएको थियो । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको मन्त्रालयले पुष्टि गरेकोछ ।
नेपालमा थप ४ सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

डा गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३ सय ८६ जना पुरुष र ४८ महिला गरी कूल ४ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको गौतमले बताए । योसँगै संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ । तीमध्ये १ हजार १ सय ४२ महिला र १० हजार २० जना पुरुष छन् ।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय १२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । तीमध्ये १९ महिला र २ सय ७३ पुरुष छन् । योसँगै निको भएर घर फर्किनेको संख्या २ हजार ६ सय ५० पुगेको छ ।

पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट ६ हजार ५ सय ४३ जनाको परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट पछिल्लो २४ घन्टामा ४ हजार १ सय ३७ जनाको परीक्षण भएको गौतमले जनाए । उनले ७४ हजार २२ जना क्वारेन्टिनमा र ८ हजार ४ सय ८६ जना आइसोलेशनमा रहेको बताए ।

यसैबीच प्रदेश २ को समाजिक विकास मन्त्रालयले जनाए अनुसार विहिवार धनुषा र पर्सा जिल्लामा मात्र स्वाब संकलन गरिएकोछ ।मन्त्रालयका अनुसार धनुषामा ८४ र पर्सामा ५७ स्वाब संकलन भएको हो ।हाल सम्म ४१ हजार २ सय ९२ स्वाब संकलन भएपनि ५ हजार ५ सय १४ को नतिजा आउन बाँकी नै छ ।

प्रदेशमा ३ हजार २ सय १६ जना कोरोना भाइरस पोजिटिव देखिएका छन् ।क्वारेन्टाइनमा हरेक दिन संख्या घटन थालेकोछ ।हाल क्वारेन्टाइनमा ७ हजार ११, होम क्वारेन्टाइनमा १७ हजार १ सय ८२ र आइसोलेशनमा ७ सय ८४ जना रहेको मन्त्रालयले जनाएकोछ ।

Comment


Related News

Latest News

Trending News