अपडेट 
२०७७ असार १९, शुक्रबार १०:१९

काठमाण्डु ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को राजनीति शितल निवासमा पुगेकोछ ।राष्ट्रपति विद्या देवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा दुवै सदन अधिवेशन अन्त्य गरेको घोषणासँगै पार्टी फुटाउने अध्यादेश आउन सक्ने चिन्ता नेताहरुमा देखिएकोछ ।

स्थायी कमिटी बैठकमा अनुपस्थित रहेका प्रधानमन्त्री ओलीले मन्त्रीपरिषदको बैठक डाकेर संसदको अधिवेशन अन्त्य गरेपछि नेताहरु उनको अगामी कदमबाट सशंकित भएका छन् ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकतामा संकट आएको बताएका छन् । स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरागर्दै श्रेष्ठले पार्टीमा संकट आएको बताए । ‘एकताको संकट भनेको पार्टी एकतामा खतरा भन्ने हो’, उनले भने, ‘पार्टी एकताको रक्षा गर्नुपर्छ र एकतालाई सुदृढ गर्न अन्तिम अवस्थासम्म छलफल गर्नुपर्छ ।’

‘संकटबाट जोगाउन शनिबारसम्मका लागि दुवै अध्यक्ष र अरु नेताहरू प्रयास गर्नुहुनेछ’ उनले भने, त्यसका लागि एक दिनको समय राखेर बैठक स्थगित गरिएको हो ।’

श्रेष्ठका अनुसार मन्त्रिपरिषद् बैठक नबस्ने र संसद् अधिवेशन अन्त्य नगर्ने सहमति प्रचण्ड र ओलीबीच भएको थियो । तर स्थायी कमिटी बैठक बसिरहेकै बेला मन्त्रिपरिषद बैठकबाट निर्णयगरि संसद् अधिवेशन अन्त्य गर्नुभयो भनेर दाहालले स्थायी कमिटी बैठकमा ब्रिफिङ गरेका थिए । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले अध्यादेश ल्याइनसकेको बारे आफूलाई स्पष्ट पारेको पनि दाहालले स्थायी कमिटीमा सुनाएको सहभागि एकजना नेताले जनाए ।

स्थायी कमिटी बैठकलाई बीचमै स्थगनगरि अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले शितल निवास पुगेर राष्ट्रपति भण्डारीलाई संसद अधिवेशन अन्त्यको सिफारिस गर्नु उपयुक्त नभएको बताएको स्रोतले जनाए । पार्टीको एउटा गुटमा देखिने गरी नलाग्न उनले आग्रहगर्दै दल बिभाजनको अध्यादेश जारी नगर्न समेत आग्रह गरेको बताइएकोछ ।

मन्त्रिपरिषद् निर्णयको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान प्रचण्डको सहमति विपरित संसदको चालु अधिवेशन अन्त्य गरेपछि स्थायी कमिटी बैठकमा छलफल भएको थियो ।संसद बैठक स्थगित भएपछि प्रचण्डले प्रधानमन्त्री ओलीसित भेंटेका थिए ।

स्रोतका अनुसार प्रचण्डले प्रधानमन्त्रीसँग बुझ्दा यो निर्णयले केही नहुने प्रतिक्रिया दिएका थिए ।तर उनले एक÷दुई दिन त्यस्तो कुनै अध्यादेश नआउने ओलीले प्रचण्डलाई बताएका थिए ।त्यसबाट उनी झन सशंकित बनेका थिए ।

राजनीतिक दलसँग सम्बन्धी कानुन संशोधन गर्न अध्यादेश ल्याउन लागिएको भन्ने चर्चापछि अध्यक्ष दाहाल राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास गएका थिए । राष्ट्रपतिसँग करिब १ घन्टा भेटवार्तापछि दाहाल बालुवाटार फर्केर बैठक सुरु गरेका थिए ।तर त्यो बैठकमा उनले प्रधानमन्त्री र राष्ट्रपतिसित भएको छलफलबारे ‘ब्रिफिंग’ गरेपछि शनिवारका लागि स्थगित गरे ।

प्रचण्डले राष्ट्रपतिसँग मिडियामा सार्वजनिक भएजस्तो कुनै अध्यादेशको आवश्यकता नपरेको बताएका थिए। जवाफमा राष्ट्रपतिले कुनै अध्यादेशको तयारी नभएको प्रष्ट पारेको जानकारी बैठकमा प्रचण्डले गराएको प्रवक्ता श्रेष्ठले बताए ।

अधिवेशन अन्त्यको निर्णय भए पनि राष्ट्रपति र प्रधानमन्त्रीले अहिले अध्यादेश नआउने जानकारी गराएको प्रचण्डले बैठकमा बताएको श्रेष्ठले जनाए ।

‘बैठकमा चालु बजेट अधिवेशन किन अन्त्य भयो भनेर प्रश्न उठेका छन्’ उनले भने, यसले पार्टी एकतामा खतरा आयो । ‘तर संकटबाट पार्टी जोगाउनुपर्छ। त्यसका लागि अध्यक्ष एवम् प्रधानमन्त्री र अध्यक्ष कमरेड प्रचण्डले छलफल गर्नुहुनेछ ’ उनले भने ।

बैठकमा पार्टी एकतालाई सृदृढ बनाउन छलफलका लागि शुक्रबार एक दिन राखेर शनिबारका लागि मात्र स्थायी कमिटी बोलाइएको उनले जनाए ।

‘यही परिस्थितिको बीचमा पार्टी एकता गम्भीर संकटको मोडमा पुग्न लागेको त होइन ? भन्ने गम्भीर चासोसहित बैठकले पुनः पार्टी एकतालाई हर हालतमा रक्षा र सुदृढ गर्न, पार्टी सरकार र राष्ट्रको आवश्यकतालाई पूरा गर्न छलफल आवश्यक पर्ने भएकोले पर्सी ११ बजेसम्म बैठक स्थगित भएको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘यो विषयमा विहिबार र शुक्रवार अध्यक्ष र अरु जिम्मेवार कमरेडबीचमा छलफल हुनेछ ।’

बुधवार स्थायी कमिटीको बैठकमा पनि प्रधानमन्त्री ओलीको राजिनामा मागिएको थियो ।ओलीले राजिनामा नदिने अडानमा देखिएपछि झम्सी खेलमा साँझ प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समुहको संयुक्त बैठक बसेको थियो ।त्यो बैठकपछि ४५ सदस्यीय स्थायी कमिटीमा ओलीको पक्षमा १४ जना मात्र देखिए ।

प्रधानमन्त्री ओली अब सचिवालयमा समेत अल्पमतमा परेका छन् ।शुक्रवार र शनिवार बिहान सम्म ओलीले आफ्नो पक्षमा अनुकुल वातावरण बनाउन नसके दल विभाजन सम्बन्धी अध्यादेश फेरी ल्याउने संभावना बलियो रहेको बताइन्छ ।त्यसका लागि उनले आफ्ना निकट सहयोगीहरुसित छलफल सुरु गरिसकेका छन् ।

स्व.मदन भण्डारी जयन्तीको दिन गत आइतवार निर्वाचन आयोगमा दर्ता गरिएको नेकपा एमालेका पदाधिकारीहरु ओलीका सहयोगी महेश बस्नेत निकटका नेता, कार्यकर्ताहरु रहेको बताइन्छ ।

Comment


Related News

Latest News

Trending News