अपडेट 
२०७७ असार १९, शुक्रबार १४:३७

राजविराज। स्थानीयले जग्गा दान गरेपछि सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिकामा अस्पताल निर्माण हुने भएको छ । गाउँका चार जनाले साढे ६ कट्ठा क्षेत्रफलको जग्गा दान गरेपछि अग्नीसाइर गाउँपालिका–६ स्थित रतवला महुुलीमा १५ श्ययाको अस्पताल निर्माण हुने भएको हो ।

अस्पतालका लागि स्थानीय हेमनाराण चौधरीले चार कठ्ठा, देवकान्त चौधरीले एक कठ्ठा दश धुर तथा सबुरलाल चौधरी र सुरतलाल चौधरीले १०÷१० धुर जग्गा दान गरेको अस्पतालकी संयोजक रहनु भएकी वडाध्यक्ष कुसुमा आचार्यले जानकारी दिनुभयो ।

अस्पताल निर्माणस्थलमा आयोजित एक समारोहका बीच गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरी, वडा नम्वर–६ की अध्यक्ष आचार्य र जग्गा दाताहरुले संयुक्त रुपमा अस्पताल भवनको बिहीबार शिलान्यास गर्नुभयो । पूर्वपश्चिम लोकमार्गदेखि करिब २०० मिटर उत्तरतर्फ निर्माण हुन लागेको उक्त अस्पतालको कूल लागत रु पाँच करोड रहेको छ ।

वडावासीहरुको सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच स्थापित गर्ने उद्देश्यले प्रदेश सरकारको योजनाअन्तर्गत अस्पतालको निर्माण हुन लागेको अध्यक्ष आचार्यले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष चौधरीले आरम्भमा १५ श्ययाको अस्पताल भए पनि आगामी वर्षदेखि स्तरोन्नती गर्दै भौतिकलगायत सबै क्षेत्रमा प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News