अपडेट 
२०७७ असार २१, आईतवार १३:३९

इलाम । सूर्योदय नगरपालिका–७ का चिया किसान डम्बर कटुवाललाई आजकाल किसान भएकोमा ठूलो ग्लानी छ । एउटै विषयलाई लिएर पटक–पटक आन्दोलन गर्नुपरेकामा र चियाको उचित मूल्य नपाएकामा धुरुधुरु रुन मन लाग्छ ।

बन्दाबन्दीको समयमा घरमा नुनतेल साट्ने चियाको मूल्य नै ‘कौडीको भन्दा कम परेपछि’ उनलाई अहिले चिया बेच्नु न नबेच्नु भएको छ ।

‘खासमा दुःख गरेअनुसारको भाउ पाउनु त पर्छ नि । आखिर किन हामीलाई लागत नै नउठ्ने मूल्य लिन बाध्य बनाइन्छ’, कटुवाल भन्छन्, ‘घरमा साग रोप्ने करेसाबारीमा पनि चिया नै लाइयो, अहिले चकलेटको मूल्यमा चिया दिनु पर्दैछ । कहिलेचाहिँ हामीले यो विषयबाट मुक्ति पाउँछौँ ।’

बन्दाबन्दीको समयमा पनि हरियो चियापत्तीको सोचेजस्तो मूल्य नपाएपछि डम्बर यतिबेला के गर्ने र कसो गर्ने अवस्थामा पुगेका छन् । स्थानीय सूर्योदय नगरपालिका ९सूनपा० ले पनि चियाको भाउ प्रतिकिलो रू। ४० भन्दा कम नकिन्नु भनेर कार्ययोजना नै बनाएको छ । तर पनि उद्योगीहरूले त्यही मूल्य पनि नदिने ‘अड्डी’ कसेपछि डम्बरको मन पिरलिएको हो । ‘स्थानीय सरकारले पनि कानून मात्र बनाएको छ । कार्यान्वयन गराउने पक्षमा छैन । उद्योगीहरू पनि आफ्नै भलो मात्र चाहन्छन्’, डम्बर भन्छन्, ‘हाम्रो पक्षमा कसले पो बोलिदिन्छ र १’

डम्बर मात्र होइन, सूनपाकै अर्का किसान ज्ञानु राईलाई पनि यस्तै लाग्न थालेको छ । चियाको उचित मूल्य पाउन छाडेपछि एकातिर बन्दाबन्दीमा घरमा आर्थिक संकट आइलागेको छ भने अर्कातिर बालीको मूल्य नै राम्रो नपाएपछि उकुसमुकस भएको छ ।

हरियो चियापत्तीको उचित मूल्य नपाएपछि यतिबेला चिया किसान सडकमा छन् । बन्दाबन्दीको समयमा अन्तरराष्ट्रिय बजारमा हरियो चियापत्ती नबिकेको भन्दै उद्योगीले मूल्य घटाएपछि किसान सडकमा आउन बाध्य भएका हुन् । किसानले आन्दोलनस्वरुप नगरपालिकाभरिका किसान मिलेर संघर्ष गर्ने योजना पनि बनाएका छन् तर एक हुन नसक्दा समस्या आएको छ । ‘हामी विस्तारै एक हुने क्रममा छौँ । तीनरचार वडाका किसान त एक भइसक्यौँ’, अर्का चिया किसान डम्बर प्रधान भन्छन्, ‘हामी चिया किसानले चियामा सुधार ल्याउनुपर्ने छ भने हामी ल्याउन तयार छाँै तर उद्योगीले उचित मूल्यचाहिँ दिउन् ।’ प्रधान भने नगरले तोकेको मापदण्डानुसार उद्योगीले चिया नलिए चिया नै नदिने जिकिर गर्छन् ।


किसानको उत्पादनको मूल्य कम पारेर उद्योगीले नाफा मात्र कमाएको दाबी गर्दै प्रधान भन्छन्, ‘हो बन्दाबन्दी छ, चियाको मूल्य उद्यागीले धेरै दिन सक्दैनन् तर नगरपालिकाको मापदण्डमा त टेक्नैपर्छ । नगरको मापदण्डभन्दा धेरैमाथिको मूल्यसमेत हामीले विगतमा पाएका हौँ ।’

उद्योग बन्द भए पनि चिया दिँदैनौँ’
सूनपाले तोकेको मापदण्डमा टेकेर चिया उद्योगले हरियो चियापत्तीको मूल्य नदिए उद्योगलाई कुनै हालतमा चिया नदिनेसम्म किसानले बताएका छन् । विषम परिस्थितिको फाइदा उठाउँदै उद्योगले कम भाउ तोके चिया घरमै राख्नेसमेत किसानले बताएका छन् । ‘हाम्रो पनि श्रमको मूल्य हुनुपर्‍यो’, चिया किसान साधना फागो भन्नुहुन्छ, ‘हाम्रो वस्तुको उचित मूल्य नै दिइँदैन भने हामी किन झुक्ने ?’

फागोका अनुसार धेरैजसो चिया किसानलाई उद्योगले चियापत्ती ल्याउन अनुरोध गरेको र पछि निर्धारित मूल्यसमेत दिएका छन् । ‘हामीले पनि त कर तिर्नुपर्छ, घर चलाउनु पर्छ’, फागो भन्छन्, ‘चिया किसानलाई सहुलियत ऋण र तालिम दिनुको सट्टा हाम्रै उत्पादन पनि सस्तो खोज्ने ?’

के छ नगरको कार्यविधिमा ?
सूनपाले दुई वर्षअघि मात्र किसानको हरियो चियापत्तीको मूल्य कम्तीमा प्रतिकिलो ‘४० मा उद्योगले किन्नुपर्ने कार्यविधि गरेको थियो । त्यसबेला आफ्नो चियाको मूल्य कम राखेको भन्दै किसानले आन्दोलनसमेत गरेका थिए तर अहिले त्यही नगरले तोकेको मूल्यसमेत उद्योगले नदिँदा किसान अझै समस्यामा परेका हुन् । नगरको कार्यविधि ‘सरकारको कानून’ भएको हुनाले जसरी पनि उद्योगले मान्नुपर्ने बताउँछन् सूर्योदय नगरपालिकाका आर्थिक विकास समितिका संयोजक देवेन्द्र शर्मा ।

‘सधैँ किसान मार्ने काम मात्र भएको छ । यदि उद्योगले नगरपालिकाको मापदण्डविपरीत चिया लिए आवश्यक कारवाही गर्नेछौँ, शर्माले भने, ‘जहिले पनि वस्तुको मूल्य कम लागतमा निर्धारण हुन्छ । विषम परिस्थिति आयो भन्दैमा कानूनविपरीत वस्तुको मूल्य कहीँ पनि लिन पाइँदैन ।’ शर्माले विगतमा उद्योगले किसानको चिया ‘कौडी’कै मूल्यमा लिए पनि अब भने त्यस्तो गर्न नसक्ने बताए ।

के भन्छन् त उद्योगी ?
यता उद्योगीले भने तयारी चिया नबिकेकाले किसानलाई चियाको उचित मूल्य दिन नसकिएको बताएका छन् । उनीहरूले नेपालमा बजार नभएको र तेस्रो मुलुकमा लगेर बेच्न समस्या भएकाले कम मूल्य दिएको स्वीकार गरेका छन् । ‘तयारी चिया विक्री नभएकाले किसानलाई बढी मूल्य दिन उद्योगलाई समस्या छ’, चिया उद्योगी गोपाल कट्टेलले भने, ‘अहिले उद्योगहरूले तयारी चिया बेच्न नपाएकै कारण किसानको हरियोपत्तीको मूल्य तिर्न सकेका छैनन् ।

Comment


Related News

Latest News

Trending News