अपडेट 
२०७७ असार २२, सोमबार १५:३२

एजेन्सी । भारतको कानपुरमा आठ प्रहरीको हत्या गर्ने विकास दुवे नेपालतिर भागेको हुन सक्ने भन्दै भारतीय प्रहरीले खोजबिन तीव्र पारेको छ ।

घटनाको चारदिन बितिसक्दा पनि फरार रहेका दुवेलाई खोज्न जुटेको प्रहरी टोलीले दुवे नेपालतिर भागेको हुनसक्ने आशंका गरेको हो । प्रहरीले उसको सूचना दिनेलाई एक लाख भारु पुरस्कार दिने घोषणा गरेको छ । दुबेलाई पक्राउ गर्नका लागि धरपकड जारी छ ।

प्रहरीले बाटोमा हिँड्ने मानिसलाई दुबेको पोस्टर देखाउँदै यसलाई कतै देख्नुभएको छ भन्दै सोधिरहेको छ । दुबेलाई खोज्नका लागि एसटीएफका २० टोली र तीन हजारभन्दा बढी प्रहरी खटाइएको छ ।

नेपालतिर भाग्ने आशंका गरिएकाले सीमावर्ती सात जिल्लामा विशेष अलर्ट जारी गरिएको छ । विकासको परिवारका सदस्य अनि निकटवर्ती लगभग ५०० मानिसको मोबाइल फोनलाई प्रहरीले निगरानीमा राखेको छ ।

उसलाई सूचना दिने प्रहरीहरूमाथि पनि निगरानी राखिएको छ । ऊ र उसका साथीहरूलाई पक्राउ गर्नका लागि उत्तर प्रदेशका सबै ७५ जिल्लामा अलर्ट जारी गरिएको छ ।

विकास दुबेलाई शुक्रबार पक्राउ गर्न गएका प्रहरीमाथि गोली चलाउँदा आठ प्रहरीको मृत्यु भएको हो । उसलाई पक्राउ गर्न आउने सूचना पनि प्रहरीले नै दिएको पत्ता लागेपछि सूचना दिने प्रहरीको खोजी भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News