अपडेट 
२०७७ असार २३, मंगलवार १२:२४

जनकपुरधाम । प्रदेश २ सरकारले आफ्नै अनुसन्धान व्यूरो राख्ने भएको छ । प्रदेशको शान्ति सुरक्षा मजबुत बनाउन र विकासीय कामलाई अगाडि बढाउनका निम्ति प्रदेश सरकारले अनुसन्धान व्यूरो राख्न लागेको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश अनुसन्धान व्यूरोको स्थापना, काम कर्तव्य र अधिकार सम्बन्धमा बनेको विधेयक प्रदेश सभामा पेश गरेको छ । र, यो विधेयक उपर सोमबारदेखि छलफल प्रारम्भ भएको छ ।

विधेयक ल्याउने आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले प्रदेशको शान्ति सुरक्षा मजबुत गर्ने, आर्थिक विकास गर्ने उद्देश्यले यो विधेयक ल्याइएको बताए । उनले अनुसन्धान व्यूरोले घट्नाको पूर्व जानकारी आउने भएकाले धेरै अपराध घट्ने विश्वास व्यक्त गरे ।

विधेयक उपर सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिदैं मन्त्री यादवले कुनै घट्ना घट्नुभन्दा अगाडि सूचना आउने बताए । ‘अनुसन्धान व्यूरोको स्थापना भएपछि प्रदेशभित्रको गलत कामलाई रोक्छ’ मन्त्री यादवले भने, “घट्ना घटेपनि त्यसको सत्य, तथ्य बाहिर ल्याउन मद्दत गर्छ ।”

प्रदेशको सूचना संघीय सरकारका लागि पनि महत्वपूर्ण हुने उनले बताए । उनले गलत काम गर्नेका लागि सजाय र दण्डको व्यवस्था नियमावलीमा प्रष्ट रुपले उल्लेख गरिने जनाए ।

यसअघि यो विधेयक उपरको छलफलमा सहभागी हुँदै सांसदहरुले यो विधेयक पारित भएर कार्यान्वयन भएपछि प्रदेशमा परिवर्तन आउने बताए ।

कांग्रेसका सांसद शिबचन्द्र चौधरीले अनुसन्धान व्यूरोमा काम गर्नेले गलत काम गरेमा उसको जागिर जाने र जेल जाने प्रावधान राख्नुपर्ने बताए ।

सत्ता पक्ष जनता समाजवादी पार्टीका सांसद रानी शर्मा तिबारीले यो विधेयकले घट्नाको छानबिन गर्न र अनुसन्धान गर्न सजिलो हुने विश्वास व्यक्त गरिन् ।

सोही पार्टीका सांसद परमेश्वर साहले यो विधेयकले प्रदेशको सुरक्षा र आर्थिक क्षेत्र मजबुत बन्ने धारणा राखे ।

सांसद सुरिता साहले दण्ड र जरिवाना प्रष्ट रुपमा उल्लेख गरिनुपर्ने बताइन् ।

नेकपा सांसद दिलिप साहले अहिले घट्ना हुँदा समेत सरकारलाई जानकारी नआइरहेको परिप्रेक्ष्यमा यो विधेयकले त्यसमा मद्दत गर्ने बताए ।

Comment


Related News

Latest News

Trending News