अपडेट 
२०७७ असार २३, मंगलवार १२:२९

काठमाण्डु । नेपालमा पछिल्लो पाँच हप्तामा कोरोना भाइरस संक्रमितको संख्या २४ घण्टामा सर्वाधिक कम १ सय ८० जनामा पुष्टि भएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार सोमवार दिउँसो ४ बजे सम्मको २४ घण्टामा १ सय ८० जनामा कोरोना भाइरस संक्रमित रहेको पुष्टि भएको हो ।यस अघि गत जेठ १७ गते कोरोना भाइरस(कोभीड–१९)संक्रमितको संख्या १ सय ७१ रहेको थियो ।

जेठ १८ गतेदेखि २ सय नाघ्न थालेको थियो ।एक दिनमा हाल सम्मकै उच्चतम् संख्या असार १९ गते ७ सय ४० पुगेको थियो ।त्यसयता शनिवार २ सय ३२ र आइतवार २सय ९३ कोरोना भाइरस संक्रमितको संख्या थपिएको थियो ।

हाल सम्म कोरोना भाइरस संक्रमितको कुल संख्या १५ हजार ९ सय ६४ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाए ।डा.गौतमका अनुसार हाल सम्म कोरोना भाइरस संक्रमणको कारण ३५ जनाको ज्यान गएकोछ ।संक्रमित मध्ये ६ हजार ८ सय ११ जना निको भएर घर फर्किसकेको मन्त्रालयले जनाएकोछ ।

कोरोना भाइरस संंक्रमणको पहिचान गर्न क्वारेन्टाइनमा राखिने संख्यामा व्यापक कमि आएकोछ ।खासगरि भारत लगायत तेस्रो मुलुकबाट आउनेहरुको संख्यामा कमि आएपछि क्वारेन्टाइनमा मानिसहरुको संख्या घटेको बताइन्छ ।तर आइसोलेशनमा संख्या बढेकोछ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हाल आइसोलेशनमा भएका संक्रमितको संख्या ९ हजार १ सय १८ छ । क्वारन्टीनमा हाल २९ हजार ९ सय १५ जना रहेको उनले बताए ।

यसैबीच नेपाल एयरलायन्सका ३ पायलट सहित १४ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।उनीहरु सबैलाई क्वारन्टीनमा राखिएको बताइएकोछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ती कर्मचारीलाई कोरोनाभाइरस संक्रमण देखिएकोमा दुख व्यक्त गर्दै ट्वीट गरेका छन् । पुष्टि भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टिनमा रहेका छन् ।

१४ जना मध्ये ७ जनामा क्रस भेरिफिकेसन समेत भई पुष्टि भइसकेको छ । अन्य ७ जनाको पहिलो पिसीआर टेस्ट पोजेटिभ आएपछि भेरिफिकेसनका लागि पठाइएको छ ।क्रस भेरिफिकेसन भइसकेका ७ जनालाई सोल्टीकै आइसोलेशनमा र अन्यलाई अहिले क्वारन्टीनमा राखिएको बताइएकोछ । नेपालीको उद्धार उडान प्रारम्भ भएपछि नेपाल एयरलाइन्सले सोल्टीलाई क्वारेन्टिन होटेलका रुपमा प्रयोग गरेको थियो । सोल्टीमा नेपाल एयरलाइन्सको समेत शेयर लगानी रहेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.गौतमका अनुसार सोमवार दिउँसो सम्मको २४ घण्टामा ४ हजार ७ सय २१ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गरिएको थियो ।

यसैबीच मास्क नलगाइ घर बाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्न थालेकोछ ।गृह मन्त्रालयको निर्देशनमा प्रहरीले मास्क नलगाइ बजारमा देखिनेलाई पक्राउ गरेका छन् ।मास्क नहुनेलाई मास्क समेत वितरण गरेको प्रहरीले जानाजानी मास्क नलगाउनेहरुलाई पक्राउ गरी कार्वाही गरेको बताइएकोछ ।

Comment


Related News

Latest News

Trending News