अपडेट 
२०७७ असार २४, बुधबार ०७:५१

काठमाण्डु ।दलको व्हिप उल्लंघन गरेको आरोपमा कार्वाहीमा परेकी समाजवादी पार्टीकी सांसद सरिता गिरिलाई पार्टीबाट निष्कासन गरिएकोछ । पार्टी पदाधिकारीको मंगलवार बसेको बैठकले उनलाई निष्कासन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रकाश अधिकारीले जनाए ।

पार्टीबाट निस्कान गरिएसँगै उनको सांसद पद स्वतःसमाप्त भएकोछ ।गिरि समाजवादी पार्टीको समानुपातिक तर्फबाट खसआर्य कोटामा सांसद बनेकी थिइन् ।‘गिरिलाई पार्टीबाट निष्कासन गरिएको जानकारी संसद सचिवालयलाई समेत गराइएकोछ’ अधिकारीले भने, अब उनको संसद पद समेत खारेज भएकोछ ।

पार्टी महासचिव रामसहाय प्रसाद यादवको संयोजकत्वमा गठित तीन सदस्यीय छानविन समितिले गिरिलाई कारबाही गर्न सिफारिस गरेको थियो ।समितिको सिफारिस अनुसार नै उनलाई कार्वाही गरिएको अधिकारीले जनाए ।

छानविन समितिमा यादवका अतिरिक्त इस्तियाक राइन समेत थिए ।समितिले गिरिलाई ७ दिने स्पष्टीकरण सोधेको थियो ।तर त्यसको जवाफ दिन उनी ढिलाई गरेकी र दिएको जवाफपनि सन्तोषजनक नरहेको निष्कर्ष सहित समितिले प्रतिवेदन दिएपछि पदाधिकारी बैठकले उनलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेकोछ ।

पार्टीको व्हिपको अवज्ञा गरेको कारण पहिलो पटक सांसदलाई कार्वाहीगरि पद मुक्त गरिएकोछ ।विगतमा पनि व्हिप उल्लंघन भएपनि संसद सदस्यता नै खारेज हुनेगरि कार्वाही भएको थिएन् ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकमा गिरिले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।पार्टीले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिए पनि उनले अटेर गरेकी थिइन् ।

नक्साका लागि हुन लागेको संविधान संशोधन विधेयक फिर्ताका लागि संसद सचिवालयमा सांसद गिरिले प्रस्ताव दर्ता गराएपछि उनलाई असार ८ गते स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआएको कारण उनलाई कारवाही गरेको पार्टीले जनाएको छ ।

गिरिले दर्ता गराएकी संशोधन विधेयकमा सरकारले प्रस्तुत गरेको संशोधन विधेयकमा स्रोत र प्रमाण नखुलाएकाले विधेयकको दफा २ हटाउनुपर्ने माग गरिएको थियो । सो प्रस्ताव दर्ता गराएपछि उनको निकै आलोचना भएको थियो । आलोचना भएपछि सांसद गिरिलाई सो विधेयक फिर्ता लिनका लागि पार्टीले निर्देशन दिएको थियो ।

दलका प्रमुख सचेतक उमाशंकर अडगडियाले पठाएको पत्रमा संशोधन फिर्ता नलिए कारवाही गर्न बाध्य हुने कुरा पनि उल्लेख थियो । तर गिरिले सो विधेयक फिर्ता लिन नमानेपछि उनलाई स्पष्टीकरण सोधिएको थियो ।

सो स्पष्टीकरणको जवाफ उनले असार १८ गते पार्टीमा बुझाएकी थिइन् । उनले स्पष्टीकरण दिनुभन्दा पनि पार्टीलाई नै प्रश्न गरेकी थिइन् । उनले गरेको प्रश्नको जवाफ पार्टीले दिएपछि मात्र उनले पार्टीलाई आफ्नो स्पष्टीकरण दिने भनि पत्रमा उल्लेख गरेकी थिइन् ।

गिरिले संसदमा दर्ता गरेको प्रस्तावमाथिको छलफलमा भाग लिन पाएकी थिइनन् ।उनलाई सभामुखले उनलाई बाहिर निकालेका िथए ।त्यै साँझ उनको आवासमा तोडफोड समेत गरिएको थियो ।

Comment


Related News