अबिरल वर्षाले तराई क्षेत्र बाढीले प्रभावित रेहेको समय गृहमन्त्री रामबहादुर थापा बादलले भारतीय हस्तक्षेपका कारण तराईका क्षेत्र डुवानमा परेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले भारतले सीमा क्षेत्रमा सडकरुपी बाँध बनाउँदा नेपाली भूमि डुवानमा परेको भन्दै यस्तो गतिविधि हस्तक्षेप नै भएको बताए ।‘राजनीतिक रुपमा भन्दा यो भारतले नेपालमा गरेको हस्तक्षेप नै हो’ उनले भने, ‘उनीहरुले आफ्नो हित हेरे, तर नेपालको हितलाई ध्यान दिएनन् ।’
भारतले सीमा क्षेत्रमा बनाएको बाँध र संरचना हटाउन पहल गरे पनि सार्थक नभएको मन्त्री थापाले बताए । ‘भारतीय प्रधानमन्त्री नेपालमा आउँदा यससम्बन्धी सम्झौताहरु भएका थिए । सम्झौताको सही ढंगले कार्यान्वयन भएको छैन’ उनले भने ।
मन्त्रीसँगको छलफलपछि समितिले नेपाली सीमामा भारतद्वारा निर्मित सडक र बाँध तत्काल हटाउन पहल गर्न सरकारलाई समितिले निर्देशन दियो ।