अपडेट 
२०७७ श्रावण ३, शनिबार १२:२३

आजदेखि पानी पर्ने क्रम बढेको छ । विशेषगरी प्रदेश १, २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै र अरु प्रदेशका थोरै ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार मनसुन सक्रिय हुन लागेकाले अब फेरि विस्तारै पानी पर्ने क्रम बढ्दै जानेछ । अहिले पानी परिरहेको ठाउँमा दिउँसोपछि पानी पर्न रोकिए पनि पूर्ण रुपमा भने मौसम नखुल्ने मौसमविद् अर्यालले बताउनुभयो । आज पनि देशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उहाँको भनाई छ ।

मौसम पूर्वानुमान महाशाखाले भोलिदेखि शुक्रबारसम्म नै मनसुन सक्रिय हुने र बाढी पहिरोको जोखिम रहने भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन आग्रह गरिसकेको छ । भोलि बेलुकीदेखि मनसुन सक्रिय हुन लागेकाले देशभरी नै झरी पर्ने र थोरै ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै आवश्यक पूर्वतयारी र विशेष सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

महाशाखाकी प्रवक्ता वरिष्ठ मौसमविद् डाक्टर अर्चना श्रेष्ठका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्र्रदेश तथा प्रदेश ५ का केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै ठाउँमा ठूलो र एक दुई ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना छ ।

विशेषगरी भोलि बेलुकीदेखि आउँदो बुधबारसम्म मनसुन निकै सक्रिय हुने देखिएको उहाँले जानकारी दिनुभयो । यसकै प्रभावले सोमबारदेखि बुधबारसम्म प्रदेश ५ को तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदी, कर्णाली प्रदेशको भेरी, पश्चिम सेती र यसका सहायक नदीमा बाढी आउने सम्भावना छ ।

प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका मध्य पहाडी, चुरे र तराईबाट बहने नदीमा एक्कासी बाढी आउने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दा विशेष सतर्क हुनुपर्नेछ । यस्तै सोमबारदेखि बिहीबारसम्म प्रदेश १ र २ तथा वाग्मती र गण्डकी प्रदेशका कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, बुढीगण्डकी, मस्र्याङ्दी कालीगण्डकी तथा तिनका सहायक नदीमा बाढीको उच्च जोखिम छ ।

यी ठाउँमा आउँदो शुक्रबारसम्म नै बाढी र पहिरोको जोखिम भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन मौसमविद्को सुझाव छ

Comment


Related News

Latest News

Trending News