अपडेट 
२०७७ श्रावण ८, बिहीबार ०७:३९

महोत्तरी–महोत्तरीको बर्दिबास प्रहरी कार्यालयले भारतीय नम्बर प्लेटका दुई ट्रक नियन्त्रणमा लिएको छ ।
बुधबार बर्दिबास ट्राफिक प्रहरीले चेकजाँच गर्ने क्रममा भन्सार छलीका २ ट्रक नियन्त्रणमा लिएको हो । महाराष्ट्र र मध्यप्रदेश दर्ता रहेका डिप बोरिङ मेसिन जडान गरिएका दुई ट्रक केए ५१ एमएच–३६५५ र एमपी ०९ जीई–९१३१ नियन्त्रणमा लिएको बर्दिबास ट्राफिक प्रहरीले जनाएको छ ।
सो दुई ट्रकले भन्सार छलीका सिँचाई र खानेपानी प्रयोजन डिप बोरिङमा प्रयोग हुने मेसिन र औजार ल्याएका थिए ।
यसअघि पनि भारतीय नम्बर प्लेटका ट्रकहरुले करोडौंको भन्सार छलेर नेपाल भित्रिने गरेको भएपनि प्रहरीको कुनै चासो देखाएको सा्रेतले बताएको छ ।
भारतीय नम्बर प्लेटका ट्रकले गाडीको मात्रै भन्सार तिरेर करोडौं मेसिन नेपाल ल्याएर काम गर्ने गरेको पनि पाइएको छ । यसले गर्दा सिँचाई र खानेपानी क्षेत्रका लागि मेसिन उपलब्ध गराउँदै आइरहेका नेपालकै कम्पनीहरु मारमा पर्ने गरेका छन् ।
सिँचाई तथा खानेपानी प्रयोजनका लागि नेपाल सरकारले वर्षेनी अरबौं रकम विनियोजन गर्ने गरेको छ । यसका लागि डिप बोरिङ कार्यकालागि आवश्यक मेसिन तथा औजार नेपाली कम्पनीहरुसँगै उपलब्ध छन् ।

यद्यपि, भारतमा अत्यन्तै न्यून दरमा काम गर्नुपर्ने भएकाले अधिकांश भारतीय नम्बर प्लेटमा जडान भएका मेसिनहरुको काम गर्ने रोजाई नेपाल भएको छ । यस्ता भारतीय नम्बर प्लेटमा जडित मेसिनहरु भन्सारमा ट्रक भन्सारमात्रै तिरेर मेसिनको भन्सार नतिरी नेपाल प्रवेश गर्ने गरेका छन्।
यसरी भित्रिएका ट्रकहरु निश्चित समयपश्चात फर्किनु पर्ने कानुनी मापदण्ड भए तापनि महिनौं नेपालभित्र भन्सार नतिरी काम गरी बस्ने गरेको समेत खुल्न आएको छ । बुधबार समातिएका दुई भारतीय नम्बर प्लेटका ट्रकमा जडान भएको डीप बोरिंग मेसिनको भन्सार महिनौदेखि नभएको खुल्न आएको छ। उक्त मेसिनले यस वर्ष नेपालमै गैरकानुनी रुपमा बसेर करोडौंको कामसमेत गरेको पाइएको छ ।
प्रहरीले नियन्त्रण्मा लिएको २ ट्रक राजश्व छली गरी काम गर्दै आएको थियो । भारतीय नम्बर प्लेटका मेसिनहरुले भन्सार एजेन्टमार्फत् चलखेल गरी तुरुन्तै भन्सार बुझाई छुटाउने समेत गरेको पाइएको छ । अहिले समातिएका दुई ट्रकलाई समेत छुटाउन ट्राफिक प्रहरीलाई बर्दिबास नगरपालिकाले चिठ्ठी जारी गरिसकेको पाइएको छ ।
तर, बर्दिबास नगरपालिकाका मेयर बिदुर कार्कीले अवैध रुपमा सञ्चालित भारतीय नम्बर प्लेटका ट्रकमा जडित मेसिन छुटाउन चिठ्ठी जारी गरेको अस्वीकार गरे। यता मेसिनका नेपाली एजेन्टका कर्मचारी सुबोध सिंहले नगरपालिकाले मेसिन छुटाउन चिठ्ठी जारी गरेको जिकिर गरे।
अहिले समातिएका भन्सार फेलसँगै राजस्व छली गरिएका मेसिनहरुले एसियन बोरिङका भारतीय नागरिक बलजित सिंघमार्फत् नेपालमा काम गर्दै आइरहेका छन्। सिंह आफैपनि चितवनमा बसोबास गरिरहेका छन्।

अवैध रुपमा सञ्चालित यसखाले मेसिनबारे उजुरी परेमा पैसाको चलखेलमा उनैले छुटाउँदै आएका छन् । यसपल्ट समातिएका अवैध मेसिनहरु पनि छुटाउन उनी लागि परेका छन् ।

Comment


Related News

Latest News

Trending News