
सप्तरीमा एक जना न्यायाधीशमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार एक जना न्यायाधीश, एक जना प्रहरीसहित सात जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।यसअघि उच्च सरकारी वकील कार्यालयका प्रमुखमा पनि कोरोना संक्रमणको पुष्टि भएको थियो । ४३ बर्षीय उनमा तीन दिन अगाडि संक्रमित देखिएका थिए । उनी संक्रमित देखिएपछि सरकारी वकील कार्यालयका साथै अदालतका न्यायाधीश र कर्मचारीको पनि स्वाब संकलन गरिएको थियो । अन्यको रिपोर्ट भने आउन बाँकी छ । आइतबार राजविराजस्थित वडा प्रहरी कार्यालयका एक जना २३ बर्षीय जवान पनि संक्रमित देखिएका छन् । यस्तै, तिरहुत गाउँपालिका वडा नम्बर २ का ३९ वर्षीय पुरुष, वडा नम्बर ३ का ३८ बर्षीय, वडा नम्बर ४ का २६ वर्षीय, वडा नम्बर ५ का २८ वर्षका २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख यादवले जानकारी दिए ।
योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ ।